सिरहाकाे धनगढीमाई न.पा. मा दलित महिला हरिमाया विकमाथि सामूहिक कुटपिट।
सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ झाते चौरीकी ४० वर्षीय हरिमाया विकमाथि स्थानियको सामूहिक कुटपिट (भाटे कारबाही) भएको घटना सार्वजनिक भएको छ।

सिराहा — सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ झाते चौरीकी ४० वर्षीय हरिमाया विकमाथि स्थानियको सामूहिक कुटपिट (भाटे कारबाही) भएको घटना सार्वजनिक भएको छ। घटना चैत्र २५ गते बिहान करिब ५ बजे तिर भएको भए पनि घटना बारे बेलुका ७ बजे मात्र जानकारी पाएका स्थानिय समाजसेवी विनोद मण्डलले तत्कालै पीडितलाई उद्धार गरी अस्पताल पुर्याएका छन्।
सामूहिक रूपमा बासको भाटा (लठ्ठी) ले कुटिएका हरिमाया विकको शरीरभरि निलडाम देखिएको छ। स्थानीयका अनुसार, उनलाई भाटाले मरणासन्न हुने गरी कुटपिट गरिएको थियो। कुटपिट घरमै गरिएको र घरको आँगनमै पीडाले छटपटाइरहेकी विकलाई देखेर उनका श्रीमानले छुटाउन प्रयास गर्दा, उनलाई समेत कानमा बेसरी कुटिएको र त्यसपछि उनी हाल नसुन्ने अवस्थामा रहेको बताइएको छ।
पीडितलाई कुटपिट गर्ने समूहको क्रियाकलाप देखेर छिमेकी रिना तामाङले ‘किन पिटेको?’ भनी प्रश्न गरेपछि रीनालाई पनि कुटपिट गरिएको जानकारी आएको छ।
घटना गम्भीर भए पनि ढिलै उजुरी परेकाले इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट पुगेको टोलीले तत्काल पीडितलाई अस्पताल लैजान सल्लाह दिएको थियो। प्रहरी घटनाको अनुसन्धानमा जुटेको बताइएको छ।
यता, स्थानीयबासीले भाटे कारबाहीको नाममा हुने यस्ता हिंसात्मक घटनाको अन्त्यको माग गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
प्रहरीका अनुसार, घटनाको सम्पूर्ण विवरण संकलन भइसकेपछि कानुनी प्रक्रिया अगाडि बढाइनेछ।