भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ताद्वारा सहिद सालिकमा माल्यार्पण र सहिद परिवार सम्मान।।

सितल साह,लहान ,सिरहा २५ पुस २०८२ — मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय राजकुमार गुप्ताज्यूले लहानमा मधेश आन्दोलनका सहिदहरूको स्मृतिमा स्थापित प्रतिमाहरूमा माल्यार्पण तथा टीका अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। मन्त्री गुप्ताज्यूले मधेशका प्रथम सहिद रमेश महतोसहित लहान चौकमा रहेकाे सहिद प्रतिमाहरुमा तथा मिर्जापुरस्थित अवस्थित सहिद प्रमोद सदा (सदाय)को प्रतिमामा माल्यार्पण गर्नुभएको हो।
उक्त अवसरमा मन्त्री गुप्ताज्यूले सहिद प्रमोद सदा (सदाय)की आमालाई साल ओढाएर सम्मानसमेत गर्नुभएको थियो। सहिद परिवारप्रति सम्मान र कृतज्ञता प्रकट गर्दै उहाँले मधेश आन्दोलनका सहिदहरूको त्याग, बलिदान र योगदानलाई कहिल्यै बिर्सन नहुने बताउनुभयो।

२०६३ सालको मधेश आन्दोलनका क्रममा लहानमा रमेश महतो, प्रमोद सदाय, बेचन यादव, विजय सहनी र मोहम्मद अनिस अन्सारीले सहादत प्राप्त गरेका थिए। ती सहिदहरूको बलिदानकै कारण आज मधेश पहिचान, अधिकार र विकासका दिशामा अघि बढ्न सफल भएको उल्लेख गर्दै मन्त्री गुप्ताज्यूले सहिदहरूको सपना साकार पार्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा मधेश प्रदेशको विकास, भौतिक पूर्वाधार सुदृढीकरण तथा जनताका सरोकारका विषयमा सकारात्मक, परिणाममुखी र अर्थपूर्ण काम हुने जनविश्वास व्यक्त गरिएको थियो। मन्त्री गुप्ताज्यूको अनुभव, स्पष्ट दृष्टिकोण र प्रतिबद्धताले मधेश प्रदेशको समग्र विकास यात्रामा नयाँ ऊर्जा थपिने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

माल्यार्पण कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादवज्यू, प्रदेश सांसद ललिता दास, जसपा नेपाल लाहान नगर समितिका अध्यक्ष राम उदगार महतो पुर्व वडा अध्यक्ष राकेश गुप्ता ,लगायतका उल्लेखनीय नेता तथा कार्यकर्ताहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।
समावेशी विकास, सुशासन र दिगो भौतिक पूर्वाधार निर्माणमा मन्त्रीज्यूको नेतृत्व प्रभावकारी सिद्ध हुने दृढ विश्वासका साथ उपस्थित सम्पूर्ण नेता तथा कार्यकर्ताहरूले उहाँको सफल, उपलब्धिमूलक र स्मरणीय कार्यकालको हार्दिक शुभकामना व्यक्त गरेका थिए।
