सभामुख रामअशिष यादवद्वारा मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोसहितका सालिकमा माल्यार्पण ।

सितल साह ,लहान, सिरहा ३० पुष ०८२ ।
मधेश प्रदेशका सभामुख रामअशिष यादवले आज मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोसहित विभिन्न सहिदका सालिकमा माल्यार्पण गर्नुभएको छ। लहानस्थित सहिद स्मारक क्षेत्रमा आयोजित संक्षिप्त कार्यक्रममा सभामुख यादवले सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै मधेश आन्दोलनले संघीयता, समावेशिता र अधिकार स्थापनामा खेलेको ऐतिहासिक भूमिकालाई स्मरण गर्नुभयो।
साना किसान कृषि सहकारी संस्था लहानको साधारणसभा कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन लहान आएका सभामुख यादवले सभामुखको जिम्मेवारी सम्हालेपछि पहिलोपटक सहिदका सालिकमा माल्यार्पण गर्नुभएको हो। सो अवसरमा उहाँले सहिदहरूको बलिदानकै कारण मधेशको राजनीतिक चेतना सुदृढ भएको उल्लेख गर्दै सहिदका सपना पूरा गर्न सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धितर्फ सबै एकजुट हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा जसपा नेपाल निकटका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित नेताहरूले मधेश आन्दोलनका सहिदहरूको योगदान अमर रहेको र तिनको सम्मान तथा स्मरण निरन्तर भइरहनुपर्ने धारणा व्यक्त गरे।