मिति:- ४ फाल्गुन २०८२, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

DOTIM परिसंघ रौतहटको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया गौरमा सम्पन्न

सितल साह , २७ पुष ०८२ गौर, रौतहट ।
दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको संगठनात्मक सशक्तीकरण र राजनीतिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले DOTIM परिसंघ (Dalit, Oppressed, Tharu, Indigenous and Minority) को रौतहट जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम आज गौरमा सम्पन्न भएको छ।
गौरस्थित श्री रामजानकी धर्मशालामा आयोजित उक्त कार्यक्रम जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रौतहट जिल्ला समितिको विस्तारित बैठकको निर्णयअनुसार सञ्चालन गरिएको हो। कार्यक्रमको उद्घोषणा तथा सञ्चालन DOTIM परिसंघका महासचिव शशिकपुर मियाँले गर्नुभएको थियो भने DOTIM परिसंघका केन्द्रीय संयोजक चन्देश्वर पासवानले अध्यक्षता गर्नुभएको थियो।


कार्यक्रमका प्रमुख अतिथिका रूपमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादव सहभागी हुनु भएको थियो। प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै अध्यक्ष यादवले दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको सशक्तीकरण बिना समावेशी लोकतन्त्र र सामाजिक न्याय स्थापना सम्भव नभएको बताउनुभयो। उहाँले यी समुदायको अधिकार, प्रतिनिधित्व र सम्मानजनक सहभागिता सुनिश्चित गर्न पार्टी निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा जसपा नेपालका सहअध्यक्ष रकम चेम्जोङ, उपाध्यक्ष गोविन्द चौधरी र राम किशोर यादव विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो। यस्तै, कार्यक्रमका सल्लाहकारहरूमा डा. पि.के. (पुरुषोत्तम) ठाकुर प्रमुख सल्लाहकारका रूपमा तथा योगेन्द्र राय यादव सल्लाहकारका रूपमा उपस्थित हुनु भएको थियो।
DOTIM परिसंघका सह–संयोजकहरू पंचराम तामाङ (आदिवासी), डा. मोफिज सिद्दीकी (मुस्लिम) र रामआश्रय चौधरीले पनि कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आसन ग्रहण गर्नुभएको थियो।


अन्तरक्रिया सत्रमा दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको राजनीतिक सहभागिता, संगठन विस्तार, अधिकार संरक्षण तथा प्रतिनिधित्व सुदृढीकरणका विषयमा गहन छलफल भएको आयोजकले जनाएको छ। वक्ताहरूले उत्पीडित तथा सीमान्तकृत समुदायलाई संगठित गर्दै उनीहरूको आवाज नीति निर्माण तहसम्म पुर्‍याउन DOTIM परिसंघको भूमिका प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमकै क्रममा DOTIM परिसंघ रौतहट जिल्ला समिति गठन गरिएको छ। काशीराम पासमानको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा गठन गरिएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ता, विभिन्न समुदायका प्रतिनिधि र स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button