लहान न.पामा सरुवा रोकेर कमिसन जोगाउने खेल, मेयर चौधरी–अधिकृत झा ‘सेटिङ’को आरोप।

सरुवा अटेरीको चरम सिमा पार : अधिकृत जयकान्त झा नहट्दा मन्त्रालयद्वारा लहान नगरपालिकाको खाता बन्द
सितल साह,लहान ,सिरहा, ३० पुस ०८२ ।। लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा आफ्नै गृह जिल्ला रौतहटकाे वृन्दावन नगरपालिकामा सरुवा भइसकेको एक महिना नाघिसक्दा पनि हालसम्म सरुवा भएको स्थानमा नगएपछि विवादले गम्भीर मोड लिएको छ। मन्त्रालयको निरन्तर ताकेता र पटक–पटक सरुवा पत्र काटिँदासमेत अटेरी गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कडा कदम चाल्दै लहान नगरपालिकाको तत्काल खाता नै बन्द गरेको छ।
झालाई रौतहट (वृन्दावन नगरपालिका)सरुवा गरिएको चिठी मन्त्रालयले एक महिनाअघि नै पठाइसकेको थियो। तर उनले सरुवा कार्यान्वयन नगरी लहानमै बसिरहनुलाई मन्त्रालयले गम्भीर अवज्ञाको रूपमा लिएको बताइन्छ। बारम्बार ताकेता गर्दा पनि कार्यस्थल नपुगेपछि अन्ततः लहान नगरपालिकामार्फत हुने सम्पूर्ण आर्थिक कारोबार रोक्ने निर्णय लिइएको हो। खाता बन्द भएसँगै नगरपालिकाको विकास योजना, तलब–भत्ता लगायतका कामकाज ठप्प भएका छन्, जसको प्रत्यक्ष मार सेवाग्राही र नगरवासीले भोगिरहेका छन्।

यही घटनाक्रमबीच मन्त्रालयले लहान नगरपालिकामा पठाएका नयाँ प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेललाई नगर प्रमुख महेश चौधरीले हाजिर हुन नदिएको विषय पनि सार्वजनिक भइसकेको छ। मन्त्रालयको स्पष्ट आदेश हुँदाहुँदै नयाँ अधिकृतलाई रोक्नु र पुरानै अधिकृतलाई टिकाइराख्न खोज्नुले नगर नेतृत्व र अधिकृत झाबीच मिलेमतो रहेको आशंका झनै बलियो बनेको छ।
मन्त्रालयमा कुरा नमिलेपछि अधिकृत झाले आफ्नो सरुवा रोक्न अदालतमा उजुरी हालेको बताइन्छ। आफ्नै गृह जिल्लामा सरुवा हुँदा पनि अदालतसम्म धाउनुपर्ने अवस्थाले उनको नियत र उद्देश्यबारे गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासी भन्छन्, “आफ्नै जिल्लामा गएर सेवा दिनुपर्ने अधिकृत किन लहान छोड्न यति धेरै कसरत गरिरहेका छन् ?”

जयकान्त झामाथि विगतदेखि नै भ्रष्टाचारका आरोप लाग्दै आएका छन्। तेल र खानाको शीर्षकमा करोडौँ खर्च देखाएर अनियमितता गरेको आरोपसम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको चर्चा अझै सेलाएको छैन। यही पृष्ठभूमिका कारण मन्त्रालयले उनलाई लहानबाट हटाएर सरुवा गरेको आरोप पनि स्थानीय तहमा उठ्न थालेको छ।
लहानमा झा आएको दिनदेखि नै नगरपालिका विवाद र भ्रष्टाचारको अखाडा बनेको स्थानीयहरूको गुनासो छ। विकास योजनामा पारदर्शिता नभएको, कमिसन बिना काम अघि नबढ्ने र प्रशासन राजनीतिक दबाबमा चल्ने गरेको आरोप निरन्तर लाग्दै आएको छ। स्थानीय नेताहरूका अनुसार, प्रत्येक योजनाबाट कमिसन उठाएर नगर प्रमुख महेश चौधरीसँग बाँडफाँड गर्ने ‘सेटिङ’ नै झालाई लहानमै टिकाइराख्ने मुख्य कारण हो। यही कारणले मेयर चौधरीले झाको सरुवा रोक्न मन्त्रालयसम्म धाउने गरेका थिए भन्ने आरोप पनि खुलेर आउन थालेको छ।
अहिले लहानमा चिया चौतारीदेखि सामाजिक सञ्जालसम्म एउटै चर्चा छ— लहान छोडेपछि हुने कथित ‘मोटो कमिसन’ गुम्ने डरले नै अधिकृत झा सरुवा भएको ठाउँमा नजान खोजिरहेका छन्। सरुवा अटेरीकै कारण सम्पूर्ण नगरपालिकाको खाता बन्द हुनु स्थानीयका लागि झनै पीडादायी बनेको छ।
