जसपा नेपाल सिरहा क्षेत्र नं.–१ मा सामूहिक पार्टी परित्याग

पार्टीलाई प्राइभेट लिमिटेड जस्तै चलाइएको आरोप।।
सितल साह लहान,सिरहा २५ माघ ०८२ ।। जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा क्षेत्र नं.–१ अन्तर्गतका पार्टी निकट नेता तथा कार्यकर्ताहरूले आज सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। हिजाे लहानमा संयुक्त छलफल पश्चात उनीहरूले संयुक्तरूपमा सामूहिक राजीनामा दिंदै पार्टी परित्यागको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्नेहरूमा जसपा नेपालका पूर्व लहान नगर उपाध्यक्ष राजेन्द्र साह, पूर्व केन्द्रीय परिषद सदस्य रामनारायण महतो, किसान महासंघ लहान नगर सचिव काशिन्द्र यादव, लहान वडा नं.–१ का पूर्व वडा कमिटी सदस्य मनोज कुमार साह, वडा नं.–१२ का निवर्तमान अध्यक्ष पशुपति साह, लहान २० का नगर कमिटि सदस्य रामऔतार महताे, लहान–२२ का पूर्व निर्वाचित वडा सदस्य रामबिलास मण्डल, लहान–२० का वर्तमान अध्यक्ष सूर्यदेव महतो, प्रविन महतो, केन्द्रीय महाधिवेशन प्रतिनिधि इन्दिरा शर्मा, लहान–२ का रामबाबु यादव, लहान–२२ का रामकुमार मण्डल, वडा नं.–२० का पूर्व वडा कमिटी अध्यक्ष नेत्रलाल साह, लहान नगर सदस्य श्रीवती सदाय लगायत विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरू रहेका छन्।
नेताहरूले पार्टीका स्थानीय नेतृत्वले पार्टीलाई प्राइभेट लिमिटेड कम्पनी जस्तै मनपरी ढंगले सञ्चालन गरेको, कार्यकर्तालाई संरक्षण नगरी उल्टै दबाब, अपहेलनाको वातावरण सिर्जना गरिएको, गुट–उपगुटको राजनीति, एकल निर्णय, आफूखुशी पद सिफारिस, काम गर्ने कार्यकर्ताको उचित मूल्याङ्कन नगरी चाप्लुसी गर्नेहरूलाई प्राथमिकता दिने प्रवृत्ति हाबी भएको आरोप लगाएका छन्।
त्यस्तै, पार्टीका गतिविधिबारे माथिल्लो निकायमा पटक–पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको, बेवास्ता गरिएको अवस्था देखिएकाले बाध्य भएर सामूहिक राजीनामा दिएको एक नेताले जानकारी दिए।
उनीहरूले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको र नेतृत्व तहबाट सुधारको कुनै संकेत नदेखिएकाले आज एकैसाथ पार्टी परित्याग गर्नुपरेको बताएका छन्।