सिरहामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक गम्भिर घाइते
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित कसाहा खण्डमा बुधबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किँदा गम्भिर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ

सितल साह ,सिरहा, चैत २७ –
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित कसाहा खण्डमा बुधबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किँदा गम्भिर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।
सडक दुर्घटना बुधबार बिहान करिब ११:३० बजेको समयमा भएको हो। विपरीत दिशाबाट तीव्र गतिमा आइरहेका दुई मोटरसाइकल आपसमा ठोक्किँदा सुखीपुर नगरपालिका–८ निवासी करिब ३० वर्षीय जयकुमार गिरी र कल्याणपुर नगरपालिका–१२ निवासी करिब २८ वर्षीय सन्तोषकुमार यादव गम्भिर घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि धनगढीमाई नगरपालिका–९ मुसहर्नियास्थित आरके मेडिसिटी अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।
सन्तोषकुमार यादवले चलाएको मोटरसाइकलमा पछाडि सवार सिरहा नगरपालिका–१२ निवासी करिब २४ वर्षीय सिकन्दर यादव भने गम्भिर घाइते भएका छन्। उनको टाउको, हात र खुट्टामा चोट लागेको र हाल सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) विरेन्द्रकुमार पासवानले जानकारी दिए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लगातार बढ्दो सडक दुर्घटनाका कारण जनधनको क्षति भइरहेकाले ट्राफिक नियमको कडाइका साथ पालना गर्न प्रहरीले आग्रह गरेकाछन।