मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

मुक्ति नेपालद्वारा बाल विवाह तथा लैङ्गिक हिंसा विरुद्ध अभियान तीव्र

सिरहाको गोलबजारमा सक्रिय सामाजिक संस्था मुक्ति नेपालले महिला तथा किशोरीहरूलाई सशक्त बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

अशिष साह , सिरहा , फाल्गुन १५ ।। सिरहाको गोलबजारमा सक्रिय सामाजिक संस्था मुक्ति नेपालले महिला तथा किशोरीहरूलाई सशक्त बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। समुदायमा शान्ति स्थापनाका लागि संस्थाले बाल विवाह अन्त्यका लागि किशोरी सशक्तिकरण अभियान, सामुदायिक सुरक्षा जालो तथा शान्तिका लागि स्थानीय क्षमता विकास कार्यक्रम सञ्चालन गरिरहेको छ।

बाल विवाह रोकथाम तथा किशोरी सशक्तिकरण अभियानअन्तर्गत, हानिकारक परम्परागत अभ्यास अन्त्य गर्नका लागि किशोरीहरूको संगठित आवाजलाई बलियो बनाइने कार्य भइरहेको छ। आर्थिक अवस्था कमजोर भएका तथा पढाइबाट बञ्चित किशोरीहरूलाई शिक्षामा पहुँच बढाउने कार्यका साथै अभिभावकहरूको आयआर्जनका लागि पनि सहयोग पुर्‍याइँदै आएको छ। पढाइ छोडेका तथा बाल विवाहको उच्च जोखिममा रहेका किशोरीहरूलाई विभिन्न सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने प्रयास गरिएको छ।

संस्थाले किशोरी, अभिभावक, शिक्षक, स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा, युवा तथा सरोकारवालाहरूसँग संवाद कार्यक्रम सञ्चालन गरी बाल विवाह, लैङ्गिक हिंसा तथा सामाजिक विभेद अन्त्यका उपायहरूबारे छलफल गरिरहेको छ। यसले समाजका सबै पक्षलाई जिम्मेवार बनाउने तथा हिंसा रोकथामका लागि आवश्यक पहल गर्न उत्प्रेरित गर्ने विश्वास लिइएको छ।

यसैबीच, शान्ति स्थापनाका लागि समुदायमा द्वन्द्व रुपान्तरण गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरी नागरिक समाज र स्थानीय निकायबीचको सम्बन्ध बलियो बनाउने प्रयास गरिएको छ। कानुनी जानकारी प्रदान गरी समुदायलाई सचेत बनाइने तथा मनोवैज्ञानिक समस्या भोगिरहेका व्यक्तिहरूलाई मनोविमर्श सेवा दिइने कार्य भइरहेको छ। हिंसाका घटनाहरू न्यूनीकरण गर्न तथा आत्महत्याजस्ता सामाजिक विकृतिहरू रोक्न संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

मुक्ति नेपालका अनुसार, पछिल्लो एक वर्षमा सिरहाका चार पालिकामा १८३ वटा हिंसाका घटनाहरू दर्ता भएका छन्। घरेलु हिंसा, बाल विवाह, महिला हिंसाका घटनाहरू उच्च रहेको तथ्यांकले देखाउँछ। सबैभन्दा बढी पीडित श्रीमानबाट प्रभावित भएका छन् भने सासु, बुवा, छिमेकी, छोरा-बुहारी तथा अन्य आफन्तबाट हुने हिंसाका घटनाहरू पनि कम छैनन्। उमेर समूहको हिसाबले हेर्दा, २१ देखि ४० वर्ष उमेरका व्यक्तिहरू सबैभन्दा बढी प्रभावित भएका छन् भने किशोरीहरू पनि ठूलो संख्यामा हिंसाबाट पीडित हुने गरेका छन्।

मुक्ति नेपालले सञ्चालन गरेको सुरक्षावासमा हालसम्म १३९ जना हिंसा प्रभावितहरूले सेवा लिइसकेका छन्। सन् २०२४ मा मात्र ३६ जनाले सेवा लिएका छन्, जसमा घरेलु हिंसा, जबरजस्ती करणी, बहुविवाह, बलात्कारजस्ता घटनाका पीडितहरू रहेका छन्। प्रहरी, परिवार तथा विभिन्न संघसंस्थामार्फत सुरक्षावासमा आएका पीडितहरूलाई मनोसामाजिक परामर्श, सीप विकास तालिम तथा कानुनी सहयोग प्रदान गरिने कार्य भइरहेको छ। केही पीडितलाई पुनःस्थापनाका लागि परिवार तथा समुदायमा सुरक्षित रूपमा फर्काइने गरिएको छ भने केहीलाई न्याय दिलाउन कानुनी प्रक्रियामा सहयोग पुर्‍याइँदै आएको छ।

हालैका वर्षहरूमा समाजमा हिंसा, आत्महत्या, जातीय विभेद तथा लैङ्गिक हिंसाका घटनाहरू बढ्दै गएका छन्। आउँदो अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) लाई लक्षित गर्दै, यस्ता घटनाहरूको रोकथामका लागि सबै सरोकारवालाबीच सहकार्यको आवश्यकता रहेको मुक्ति नेपालले जनाएको छ। संस्था हिंसा न्यूनीकरण तथा सामाजिक न्याय स्थापनाका लागि सबै पक्षसँग मिलेर काम गर्न तयार रहेको बताउँछ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker