बलान नदीमा डुवेर बालकको मृत्यु ।।

सिरहा , ०८२ साउन २६ ।। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परिहारपुरका शिव कुमार यादवका १४ वर्षीय बालकको सिरहा–सप्तरी सीमास्थित बलान नदीमा डुबेर मृत्यु भएको छ। यो घटनाले सम्पूर्ण स्थानीय समुदायलाई मर्माहत बनाएको छ। यसअघि पनि गत वर्ष लहान–१७ दौलतपुरमा दुई बालकले यही नदीमा ज्यान गुमाएका थिए।
लगातार दोहोरिँदै आएका यस्ता दुर्घटनाले वर्षातमा बाढीग्रस्त क्षेत्रमा जनचेतना र सुरक्षात्मक तयारीको अभाव स्पष्ट देखाउँछ। स्थानीयवासीका अनुसार पालिकामा रहेका विपद व्यवस्थापन समितिहरू कागजमै सीमित छन् र वास्तविक जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा सक्रियता देखाउन सकिरहेका छैनन्।
विशेषगरी बलान नदीलगायत जोखिमयुक्त स्थानहरूमा चेतनामूलक कार्यक्रम सञ्चालन, सुरक्षात्मक संकेत बोर्ड जडान, स्थानीय स्वयंसेवक परिचालनजस्ता कार्य तत्काल आवश्यक भएको सरोकारवालाको भनाइ छ।
वर्षातमा सिरहाको लहान नगरपालिका, सखुवानन्कारकट्टी, भगवानपुर गाउँपालिका र सप्तरीको सुरुङ्गा नगरपालिका तथा बलान बिहुल गाउँपालिकामा समितिहरूलाई वास्तविक रूपमा परिचालन गर्न माग गरिएको छ। स्थानीयहरूले “विपद व्यवस्थापन नामको मात्र होइन, कामको हुनुपर्छ” भन्दै सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्।