७७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसमा HURON सिरहाद्वारा लहान अस्पतालमा बिरामीलाई फलफूल वितरण

सितल साह, सिरहा,लहान,२४ मंसिर ०८२ ।। ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा नेपाल मानवअधिकार संगठन (HURON),मधेश प्रदेश, सिरहा लहानले मानव गरिमा, समानता र न्यायका मूल्यप्रति आफ्नो दृढ प्रतिवद्धता दोहोर्याउँदै सिरहा जिल्ला कार्यसमितिको आयोजनामा रा.उ. प्रादेशिक अस्पताल लहानमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरेको छ।
मधेश प्रदेशमा “मानव अधिकार हरेक दिन, हरेक नागरिकका लागि” भन्ने मूल भावना बोकेको यस कार्यक्रममा लहान ईलाका प्रशासन कार्यालयका प्रमुख, ईलाका प्रहरी कार्यालय लहानका ईन्सपेक्टर जटा शंकर सिंह, अस्पताल प्रशासनका प्रतिनिधिहरू, मानव अधिकारकर्मी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा HURON का केन्द्रिय कार्य समिति सम्पादक राजकुमार राउत, मधेश प्रदेश प्रमुख तथा सिरहा जिल्ला सभापति बिमल ठाकुर, जिल्ला सदस्य सुरेन्द्र कुुसवाहा, सदस्यहरू तथा पत्रकार सितल साह, अनुभक्त चौधरी, अशिष साहसहितका व्यक्तित्वहरूको सक्रिय भूमिका रहेको थियो।
वक्ताहरूले मधेश प्रदेशका नागरिकका अधिकार कागजमा मात्र नभई व्यवहारमा सुनिश्चित हुनुपर्ने आवश्यकता औँल्याउँदै मानव अधिकारको सम्मान, सुरक्षा र कार्यान्वयन सबैको साझा दायित्व भएकोमा जोड दिए।

कार्यक्रममा सहभागीहरूको भनाइमा, मानवताको सेवामा गरिएको यस्तो सानो तर अर्थपूर्ण कदमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र मानवता तथा सेवा संस्कृतिको विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
नेपाल मानवअधिकार संगठन (HURON) ले मधेश प्रदेशमा मानव अधिकार उल्लङ्घनविरुद्ध निरन्तर आवाज उठाइरहने, मानव अधिकार प्रवर्द्धन तथा मानवीय सेवासम्बन्धी कार्यक्रम आगामी दिनहरूमा झनै सशक्त रूपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।




