मिति:- ३ पुष २०८२, बिहीबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

अमिना कुमर वैध दनुवारको नृशंस हत्या प्रति दनुवार जागरण समितिको कडा आपत्ति


निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय दिन जोडदार माग

सितल साह, सिरहा,२७ मंसिर २०८२ ।।
सिरहा जिल्लाको कर्जन्हा नगरपालिका–१, वल्टीयाका स्थायी निवासी अमिना कुमर वैध दनुवारको नृशंस हत्या घटनाले सम्पूर्ण दनुवार समुदाय मात्र होइन, न्यायप्रेमी सम्पूर्ण नागरिकलाई गहिरो पीडा, आक्रोश र चिन्तामा पारेको दनुवार जागरण समितिले जनाएको छ।

दनुवार जागरण समिति, मधेश प्रदेशको तर्फबाट जारी गरिएको प्रेस विज्ञप्तिमा एक निर्दोष नागरिकमाथि गरिएको यस्तो अमानवीय, क्रूर र जघन्य अपराधको घोर भर्त्सना गरिएको छ। प्रारम्भिक विवरणअनुसार उक्त हत्या योजनावद्ध र सुनियोजित रूपमा गरिएको गम्भीर आशंका रहेको उल्लेख गर्दै समितिले यस घटनाले नेपाली समाजमा अझै पनि कमजोर तथा सीमान्तकृत समुदायमाथि भइरहेका हिंसा, विभेद र दण्डहीनताको भयावह अवस्था उजागर गरेको बताएको छ।

समितिले पीडित परिवारले भोग्नुपरेको असह्य मानसिक, सामाजिक र पारिवारिक पीडाप्रति गहिरो समवेदना व्यक्त गर्दै राज्यले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिनुपर्ने माग गरेको छ। विज्ञप्तिमा अमिना कुमर वैध दनुवार हत्या घटनाको निष्पक्ष, पारदर्शी र द्रुत छानबिन गरी वास्तविक दोषीहरूलाई अविलम्ब सार्वजनिक गर्न तथा कानूनबमोजिम कडा भन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार आग्रह गरिएको छ। साथै पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति, आवश्यक सुरक्षा र न्यायिक सहयोग उपलब्ध गराउनुपर्ने माग समेत गरिएको छ।

दनुवार जागरण समितिले भविष्यमा यस्ता जघन्य घटना पुनः दोहोरिन नदिन सीमान्तकृत समुदायको सुरक्षा सुनिश्चित गर्ने दीर्घकालीन र प्रभावकारी व्यवस्था राज्यले तत्काल लागू गर्नुपर्नेमा जोड दिएको छ। यदि यस घटनामा कुनै किसिमको लापरवाही, संरक्षण वा मिलेमतो देखिएमा सम्बन्धित जिम्मेवार निकायमाथि समेत छानबिन गरी कडा कारबाही गर्नुपर्ने समितिको स्पष्ट अडान रहेको विज्ञप्तिमा उल्लेख छ।

समितिले स्पष्ट चेतावनी दिँदै भनेको छ कि यदि यस घटनामा न्याय सुनिश्चित गर्न ढिलासुस्ती, पक्षपात वा दण्डहीनताको अवस्था देखिएमा दनुवार जागरण समिति पीडित परिवारको पक्षमा दृढतापूर्वक उभिएर शान्तिपूर्ण तर सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुनेछ।

प्रेस विज्ञप्तिमार्फत समितिले सरकार, सुरक्षा निकाय, मानव अधिकारकर्मी, सञ्चार माध्यम तथा सम्पूर्ण नागरिक समाजलाई यस गम्भीर घटनाप्रति ध्यानाकर्षण गराउँदै न्यायका पक्षमा एकजुट भई आवाज उठाउन हार्दिक आग्रह गरेको छ। “न्याय नपाएसम्म हाम्रो संघर्ष जारी रहनेछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।


Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button