मिति:- २ पुष २०८२, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

रामनगर–मिर्चैया उद्योग वाणिज्य संघमा साहको विकासमूलक अभियान:अनुभव, दृष्टि र सक्रिय नेतृत्व

सितल साह,सिरहा,मिर्चैया २४ मंसिर ०८२ ।। रामनगर–मिर्चैया उद्योग वाणिज्य संघको २०८२ साल मंसिर २६ गते हुन लागेको निर्वाचन नजिकिँदै गर्दा अध्यक्षका उम्मेदवार राज कुमार साहले व्यापारी तथा उद्योगी समुदायसमक्ष मत, साथ र सद्भावको लागि सादर अपिल गरेका छन्। सामाजिक सेवा, व्यवसायिक नेतृत्व र संस्थागत सक्रियतामा लामो अनुभव रहेका साह संघलाई आधुनिक, पारदर्शी, परिणाममुखी र सदस्य–मैत्री बनाउन दृढ संकल्पसहित चुनावी मैदानमा उत्रिएका हुन्।

साह हाल नेपाल पेट्रोलियम डिलर एसोसिएसनका केन्द्रीय सदस्य, लायन्स क्लब अफ मिर्चैयाका चार्टर प्रेसिडेन्ट तथा मिर्चैया–७ स्थित भोला बाबा फ्युल सेन्टर, मिर्चैया–६ को जय दीपक ट्रेड सेन्टर, कर्जन्हा–४ को युविक राज पेट्रोल ल्याण्ड प्रा.लि. र काठमाडौं–३२ को भयाली बाबा सप्लायर्सका प्रतिष्ठित व्यवसायिक प्रतिनिधि हुन्।
व्यवसायिक क्षेत्रमा सक्रियतापूर्वक संलग्न उनले लामो समयदेखि स्थानीय व्यापारिक वातावरण सुधार, व्यवसायीको हकहित संरक्षण तथा संघलाई सशक्त नेतृत्वद्वारा अघि बढाउने लक्ष्यसहित भूमिका निर्वाह गर्दै आएका छन्।

निर्वाचनका क्रममा उनले संघभित्र पारदर्शिता, सुशासन र प्रभावकारी कार्यशैली विकास गरी आधुनिक प्रविधिमैत्री संस्था निर्माण गर्ने प्रमुख एजेण्डा प्रस्तुत गरेका छन्। संघका सदस्यलाई डिजिटल–मैत्री बनाउँदै कामकाज सहज र द्रुत बनाउने, बजारमा देखिएको मन्दी हटाउन सबै बस्तुगत व्यवसायीसँग समन्वय गरी बजार चलायमान बनाउने, सदस्यका लागि बीमा सेवा उपलब्ध गराउने तथा आकस्मिक अवस्थामा व्यापारीलाई सहारा पुग्ने गरी राहत कोष स्थापना गर्ने उनको योजना रहेको छ। साथै, रामनगर–मिर्चैया क्षेत्रमा व्यवस्थित पार्किङको अभावले व्यवसायमा पर्ने असरलाई मध्यनजर गर्दै उनले पार्किङ व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन्।

साहले स्थानीय उत्पादन तथा उद्यम प्रवर्द्धनका लागि कोसेली घर तथा प्रदर्शनी केन्द्र स्थापना गर्ने, उद्योग व्यवसायलाई दीर्घकालीन आधार प्रदान गर्ने उद्देश्यले औद्योगिक ग्राम निर्माण गर्ने तथा संघभित्र सूचना केन्द्र स्थापना गरी आवश्यक जानकारी एकै स्थानबाट उपलब्ध गराउने लक्ष्यसमेत अघि सारेका छन्। समयानुकूल विधान संशोधन गरी संघलाई आधुनिक आवश्यकतासँग मेल खाने बनाउने, आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरी करसम्बन्धी कुनै समस्या परे व्यवसायीलाई सहज वातावरण उपलब्ध गराउने तथा स्थानीय तहमा दर्ता भएर बन्द भएका व्यवसायलाई छुट उपलब्ध गराई औपचारिकरूपमा फर्म बन्द गराउने प्रक्रियामा संघमार्फत पहल गर्ने कार्यसूची समेत उनको एजेण्डामा सामेल छ।

साहले सन्देश जारी गर्दै भने, “व्यवसायीको समस्या बुझ्ने र समाधानमा साथ दिने नेतृत्व आवश्यक छ। संघलाई सक्रिय, पारदर्शी र नतिजामुखी बनाउन मेरो अनुभव, योगदान र प्रतिबद्धतामा विश्वास राखी आगामी मंसिर २६ गते आफ्नो अमूल्य मत प्रदान गरिदिनुहोला।”
उनले आफ्नो व्यवसायिक अनुभव, सामाजिक सेवा र संगठनात्मक नेतृत्वसम्बन्धी सक्रियताले संघलाई नयाँ दिशा दिन सक्षम हुने विश्वास व्यक्त गर्दै सबै सदस्यहरूसमक्ष समर्थनको अपेक्षा गरेका छन्।

अन्तमा, साहले रामनगर–मिर्चैया उद्योग वाणिज्य संघलाई समृद्ध, सशक्त र सदस्य–केन्द्रित संस्थाको रूपमा विकास गर्न आफू पूर्ण रूपमा समर्पित रहेको उल्लेख गर्दै निर्वाचनमा साथ, सद्भाव र अमूल्य मतका लागि पुनः सादर अनुरोध गरेका छन्।

सम्पर्क:
राज कुमार साह – ९८०१५३५८४४

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button