मिति:- २ पुष २०८२, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

रामसुन्दर चौधरीको नाम काटिएपछि काँग्रेस क्षेत्रीय कमिटीको आपत्ति ।।

क्षेत्रीय भेलाबाट सिफारिस नाम काटिनु पार्टी विधानविपरीत : काँग्रेस नेताहरू

सितल साह लहान,सिरहा ०२ पुस २०८२ । नेपाली काँग्रेस सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा उम्मेदवार सिफारिसलाई लिएर पार्टीभित्र विवाद चुलिँदै गएको छ। क्षेत्रीय भेलाबाट सिफारिस गरिएको उम्मेदवारको नाम जिल्ला सभापतिले एकलौटी रूपमा काटेको आरोप लगाउँदै काँग्रेस नेताहरूले आज पत्रकार सम्मेलन गरी कडा आपत्ति जनाएका छन्।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेस सिरहा १(ख) का सभापति धर्मदेव यादव, सचिवद्वय शरण देव यादवश्यामसुन्दर यादव, तथा महासमिति सदस्य अरुण केसीले क्षेत्रीय भेलाबाट सिफारिस भएका नेता रामसुन्दर चौधरीको नाम जिल्ला समितिले काट्नु गम्भीर र आपत्तिजनक भएको बताएका छन्।

फाल्गुन २१ गते प्रतिनिधिसभा निर्वाचनको घोषणा भएसँगै राजनीतिक दलहरू चुनावी तयारीमा जुटिरहेका बेला नेपाली काँग्रेसभित्रै यस्तो विवाद सिर्जना हुनु दुःखद भएको उनीहरूको भनाइ छ। क्षेत्रीय भेलाले रामसुन्दर चौधरी र पदमनारायण चौधरीको नाम सिफारिस गरे पनि जिल्ला सभापति रामचन्द्र यादवले एकल निर्णय गर्दै रामसुन्दर चौधरीको नाम हटाई सञ्जय कुमार यादवको नाम केन्द्रमा पठाएको र चाैधरीकाे नाम किन र के कति कारणले काटीएकाे हाे भनि उनीहरूले विरोध जनाएका हुन्।

नेताहरूका अनुसार पार्टी विधानअनुसार क्षेत्रीय भेलाबाट नाम सिफारिस भएपछि जिल्ला समितिमा राय–सुझावका लागि पठाइने व्यवस्था छ। यदि कुनै समस्या देखिएमा पुनः क्षेत्रीय कमिटीमार्फत सच्याउने प्रावधान रहे पनि जिल्ला सभापतिले आफ्नो स्वेच्छाले नाम काट्नु विधानविपरीत भएको उनीहरूको आरोप छ।

पत्रकार सम्मेलनमा बोल्दै नेताहरूले यस विषयमा मधेश प्रदेश अध्यक्ष तथा मुख्यमन्त्री कृष्ण प्रसाद यादवसमक्ष ध्यानाकर्षण पत्र बुझाइसकेको जानकारी दिएका छन्। प्रदेश तहबाट न्यायोचित निर्णय आउने विश्वास व्यक्त गर्दै, त्यहाँबाट समाधान नभए केन्द्रसम्म जाने चेतावनी समेत दिएका छन्। यद्यपि, पार्टीको विधानसम्मत निर्णयलाई सर्वोपरी मान्दै अगाडि बढ्ने उनीहरूको प्रतिबद्धता रहेको बताएका छन्।

नेताहरूले जिल्ला सभापतिले पूर्वाग्रही तरिकाले नाम काटेको आरोप लगाउँदै पार्टीभित्र एक नेताले अर्को नेतालाई स्वीकार नगर्ने प्रवृत्तिकै कारण यस्तो अवस्था आएको दाबी गरेका छन्। पछिल्लो समय नेपाली काँग्रेसमा गुट–उपगुटको राजनीतिले संगठन कमजोर बन्दै गएको उनीहरूको भनाइ छ।

उल्लेखनीय छ, पछिल्लो जिल्ला अधिवेशनमा रामसुन्दर चौधरी र वर्तमान जिल्ला सभापति रामचन्द्र यादवबीच सभापति पदका लागि प्रतिस्पर्धा भएको थियो। उक्त अधिवेशनका क्रममा धक्का–मुक्की र झडपसमेत भएको र त्यसयता दुवै नेताबीचको विवाद निरन्तर चलिरहेको देखिन्छ।

पत्रकार सम्मेलनमार्फत रामसुन्दर चौधरीले आम काँग्रेस नेता–कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्दै क्षेत्रीय भेलाबाट आफ्नो नाम वैधानिक रूपमा सिफारिस भएको स्पष्ट पारेका छन्। पछिल्लो केही दिनयता सिरहामा नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विवादले आगामी निर्वाचनमा पार्टीलाई फेरि हार व्यहोर्नुपर्ने जोखिम बढाएको भन्दै सबै पक्षलाई मिलेर अगाडि बढ्न सुझावसमेत दिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button