मिति:- ३ भाद्र २०८२, मंगलवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

राष्ट्रिय मुक्ति पार्टी र जनता समाजवादी पार्टी बीच कार्यगत एकताको सहमति ।।

सितल साह , सिरहा, ०८२ , साउन,२९ ।। जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोबीच श्रावण २९ गते कार्यगत एकताको सहमति–पत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रअनुसार दुवै दलले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धता जनाएका छन्। साथै सहभागितामूलक समावेशी लोकतन्त्र र सामाजिक न्यायसहितको राज्य व्यवस्था स्थापना गर्ने लक्ष्य तय गरिएको छ।

सहमतिमा संघीयतासहितको शासन प्रणालीलाई जनमुखी बनाउने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रदेशमा मुख्यमन्त्री तथा स्थानीय तहमा जनताद्वारा निर्वाचित प्रमुखको व्यवस्था गर्ने उल्लेख छ। कार्यकारी प्रमुखलाई दुई कार्यकाल मात्र हुने व्यवस्था गरिने र राष्ट्रपति तथा उपराष्ट्रपति फरक प्रदेश, जाति र लिङ्गका हुने सहमति भएको छ।

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत राज्यका सबै तहमा समानुपातिक समावेशीकरण सुनिश्चित गर्ने प्रतिबद्धता पनि सहमतिपत्रमा समावेश गरिएको छ। साथै अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरू कार्यान्वयन गर्ने, उत्पीडित, सीमान्तकृत र पिछडिएका वर्गको पहिचान र अधिकार सुनिश्चित गर्ने, तथा अन्य दलसँग मोर्चा वा सहकार्य गर्दा पनि यो कार्यगत एकता कायम रहने उल्लेख छ।

केन्द्र, प्रदेश र जिल्ला तहसम्म संयोजन समिति बनाएर कार्यगत एकतालाई संस्थागत गरिने र संयुक्त कार्यक्रम सञ्चालन गर्ने दुवै दलले सहमति जनाएका छन्। सार्वजनिक कार्यक्रममा एकअर्कामाथि आरोप–प्रत्यारोप नगर्ने र विवाद उत्पन्न भएमा छलफलमार्फत समाधान गर्ने व्यवस्था पनि गरिएको छ।

सहमति–पत्रमा हस्ताक्षर गर्दै दुवै अध्यक्षले उत्पीडित समुदायहरूको पहिचान, समानुपातिक समावेशीकरण र सामाजिक न्यायलाई अगाडि बढाउने संकल्प व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button