बलान नदीमा डुबेर बालकको मृत्यु, पीडित परिवारलाई नेता राजकुमार गुप्ताद्वारा समवेदना

सितल साह, सिरहा, ०८२ साउन २९ – सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका शिवकुमार यादवका १४ वर्षीय छोरा घनश्याम यादवको बलान नदीमा डुबेर मृत्यु भएको घटनाले स्थानीयवासी स्तब्ध बनेका छन्। साउन २६ गते बोलबम यात्रामा ट्याक्टरमार्फत जल भर्न जाँदै गर्दा डुबेका घनश्यामको शव साउन २७ गते मात्र फेला परेको हो।
पीडित परिवारलाई भेट्न युवा जसपाका नेता तथा स्थानीय लोकप्रिय व्यक्तित्व माननीय राजकुमार गुप्ता (राजु) आफ्नो टिमसहित मृतकको घर पुगेका थिए। उनले परिवारको पीडामा सहानुभूति प्रकट गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा युवा नेताहरु दिपेश यादव, नागेश्वर यादव, महेन्द्र यादव, यमुना प्रसाद यादव, देवेन्द्र यादव, रामकुमार यादव, यदुनन्दन यादव, योगेन्द्र झा, रामकुमार मण्डललगायत सहभागी थिए।
मृतक घनश्याम यादव शिवकुमार यादवको एउटै छोरा थिए। परिवारले अचानक भएको यो दुर्घटनाले अकल्पनीय पीडा भोग्नु परेको छ। स्थानीयले यस्ता दुर्घटनाहरु वर्षेनी दोहोरिने गरे पनि नियमन गर्ने निकाय मौन बसिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
साउन महिनाभरि बोलबम यात्रामा सहभागी हुनेहरू कृषि ट्याक्टरमार्फत जल भर्ने र शिव मन्दिरमा चढाउने प्रचलन तीव्र बनेको छ। तर ट्याक्टर मानवीय सवारीका लागि सुरक्षित साधन नभएकाले यो चलन अझ जोखिमपूर्ण भएको स्थानीयले बताए। ट्याक्टरमा डिजे झुण्ड्याएर बालबालिकालाई ट्रलिमा राखेर यात्रा गराउने प्रथा दुर्घटनाको प्रमुख कारण बनेको भन्दै तत्काल नियन्त्रण गर्नुपर्ने माग समेत गरिएको छ।
घटनाले फेरि एकपटक बोलबम यात्रामा देखिएको लापरबाही र व्यवस्थापनको कमजोरी उजागर गरेको छ। पीडित परिवारले न्याय र सहयोगको अपेक्षा राखेका छन् भने स्थानीयले सम्बन्धित निकायलाई यस्ता दुर्घटना रोक्न ठोस कदम चाल्न आग्रह गरेका छन्।