सिरहाको सुखीपुरबाट ७१७.६ किलो गाँजा बरामद, मेदी यादवको घरमा लुकाइराखिएको अवस्थामा भेटियो

सितल साह
सिरहा, २०८२ साउन २
सिरहा जिल्लाको सुखीपुर नगरपालिका–४ स्थित पोखरिया गाउँमा लागूऔषध गाँजाको ठूलो परिमाण बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, ६० वर्षीय मेदी यादवको घरमा लुकाएर राखिएको ७१७.६ किलोग्राम गाँजा बुधबार बिहान बरामद गरिएको हो।
प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी चौकी सिलौर्वापछवारी, सशस्त्र प्रहरी बलको वेश क्याम्प सुखीपुर, र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले बिहान करिब ६ बजे सो घरमा छापा मार्दा गाँजाको ठूलो परिमाण फेला परेको हो। गाँजा घरको विभिन्न भागमा लुकाएर राखिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।
घटनास्थलबाट को.१३प २१५२ नम्बरको होण्डा कम्पनीको मोटरसाइकल पनि बरामद गरिएको छ। प्रहरीले मोटरसाइकलको प्रयोग लागुऔषध ओसारपसारका लागि गरिएको हुन सक्ने आशंका गरेको छ।
हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। बरामद गरिएको गाँजाको परिमाण र घटनाको प्रकृति हेर्दा यसमा संगठित गिरोह संलग्न हुनसक्ने प्रहरीको अनुमान छ।
प्रहरीले लागूऔषध नियन्त्रण तथा अवैध कारोबार विरुद्ध नियमित निगरानी तथा अभियानलाई अझ तीव्र बनाइने जनाएको छ।