महेश चाैधरी द्वारा ५०% छुटमा धारा जडानको घोषणा तत्काल अलपत्र , संस्थानले भन्यो–पहिले रकम चाहिन्छ।

सितल साह , सिरहा, लहान साउन ०३ — लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीद्वारा गरिएको ५० प्रतिशत छुटमा खानेपानी धारा जडानको घोषणा व्यवहारमै कार्यान्वयन नहुँदा लहानवासी निराश भएका छन्। खानेपानी संस्थान लहानका प्रमुखका अनुसार, सो सुविधा तत्काल सम्भव नरहेको स्पष्ट गरिएको छ।
मेयर चौधरीले नगरवासीलाई साउन र भदौकोलागि ५० प्रतिशत छुटमा धारा जडान गरिने घोषणा गर्दै बाँकी ५० प्रतिशत रकम मात्र सेवाग्राहीले तिर्नुपर्ने बताएका थिए। तर, खानेपानी संस्थानले भने त्यसको पूर्वशर्त स्वरूप लहान नगरपालिकाले आधा रकम खानेपानि संस्थानकाे पहिला नै खातामा पठाउनु पर्ने आवश्यकता रहेको जनाएको छ। संस्थानको खातामा हालसम्म रकम जम्मा नगरिसकेकाले धारा जडान प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी दिएको छ।
यता, खानेपानीको चरम अभावका कारण लहान नगरवासी त्राहिमाम अवस्थामा छन्। अधिकांश चापाकल, इनार र बोरिङ सुक्दै गएका कारण पानीको लागि नगरवासीहरूलाई बिहानैदेखि लाइनमा उभिनु परेको छ। गर्मी बढेसँगै सिचाइको संकट, मलखादको अभाव, र पानीको किल्लतले कृषकहरू समेत मारमा परेका छन्।
नगरवासीहरू भन्छन्, “५० प्रतिशत छुटमा धारा जडान हुने खबरले खुसी त मिल्यो, तर त्यसको व्यावहारिक कार्यान्वयन नहुँदा अझ पीडा थपिएको छ।” उनीहरू थप्छन्, “नगर प्रमुख घोषणा गरेर आफैं युके भ्रमणमा जानु जनतालाई धोखा दिनु हो।”
नगरप्रमुखको भ्रमणका कारण अब उक्त काम मेयर फर्किएपछि मात्र अगाडि बढ्ने बताइएको छ। एक नेताका अनुसार, “यो कठिन समयमा मेयरको यस्ता घोषणाले जनतामा आशा जगाएर तत्काल समाधान नदिँदा निराशा फैलिएको छ।”
खानेपानी संस्थान लहानले भने स्पष्ट पारेको छ — “नगरपालिकाले आधा रकम हाम्रो खातामा पठाए मात्र हामी धारा जडान प्रक्रिया सुरु गर्छौं।”
यता नगरवासीहरू नगरप्रमुखको भूमिकाप्रति आक्रोशित छन्। स्थानीय युवा नेता बताउँछन्, “खानेपानीजस्तो संवेदनशील विषयमा मेयरले यति गैरजिम्मेवार व्यवहार गर्नु लज्जास्पद छ।”
लहान नगरपालिका खानेपानी संकटको भुमरीमा परेको छ। नगर प्रमुखको घोषणा र कार्यान्वयनबीचको असमानताले जनआक्रोश बढेको छ। नगरपालिकाले चाँडोभन्दा चाँडो खानेपानी संस्थानको खातामा रकम जम्मा गरी धारा जडान प्रक्रिया अगाडि बढाउनु आवश्यक देखिन्छ, ताकि जनताको जीवन सहज होस्।