मिति:- ४ पुष २०८२, शुक्रबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

२८ बुँदे मुख्य मागसहित जसपा नेपाल सिरहाद्वारा सदरमुकाममा भव्य प्रदर्शन

मधेशका जनसमस्या समाधान नगरे चरणबद्ध आन्दोलन सशक्त बनाउने चेतावनी

सितल साह , लहान,सिरहा ०४ पुस ०८२ ।। जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माग तथा विभिन्न राष्ट्रिय सरोकारका विषयहरू अघि सार्दै आज सिरहा सदरमुकाममा भव्य तथा शान्तिपूर्ण प्रदर्शन गरेको छ। पार्टीको केन्द्रीय तथा जिल्ला नेतृत्वको आह्वानमा आयोजित उक्त प्रदर्शनमा ठूलो संख्यामा नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरुद्ध चर्का नाराबाजी गर्दै मधेशका दीर्घकालीन जनसमस्याहरू तत्काल समाधान गर्न माग गरेका थिए। उनीहरूले सुशासनको प्रत्याभूति, समान अधिकारको सुनिश्चितता, रोजगारीको अवसर सिर्जना, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच, संघीयताको प्रभावकारी कार्यान्वयन, विभेद र अन्यायको अन्त्यलगायत विषयलाई प्रमुख मागका रूपमा अघि सारेका थिए।

जसपा नेपाल सिरहाका नेताहरूले वर्तमान सरकार जनताको पीडा र आवाजप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै संविधानले दिएको अधिकार व्यवहारमा लागू हुन नसकेको बताए। उनीहरूले मधेशका समस्या बेवास्ता गरिँदै आएको भन्दै अब जनताको धैर्यको सीमा समाप्त हुँदै गएको चेतावनीसमेत दिएका छन्।

कार्यक्रममा सम्बोधन गर्दै पार्टी नेताहरूले जनजीविकासँग प्रत्यक्ष जोडिएका समस्या समाधान नगरे चरणबद्ध रूपमा आन्दोलनलाई अझ सशक्त र व्यापक बनाउँदै लैजाने स्पष्ट पारे। शान्तिपूर्ण आन्दोलन नै पार्टीको मूल नीति भए पनि जनताको अधिकार प्राप्तिका लागि आवश्यक परे निर्णायक संघर्षमा उत्रन बाध्य हुने उनीहरूको भनाइ थियो।

उक्त प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। जसपा नेपाल सिरहाले आगामी दिनमा पनि जनहितका सवाललाई लिएर दबाबमूलक कार्यक्रमहरू निरन्तर अघि बढाउने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button