लहानमा अन्दाजि ३५ वर्षका अज्ञात पुरुष मृत अवस्थामा फेला

सितल साह , सिरहा, लहान – २०८२ असार ३०
सिरहाको लहान नगरपालिका–११ स्थित पडरिया क्षेत्रमा एक अन्दाजि ३५ वर्षको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन्। मृतकको हालसम्म नाम, थर र वतन खुल्न सकेको छैन।
प्राप्त जानकारीअनुसार, २०८२ साल असार २८ गते बिहान करिब ५:०० बजे स्थानीयवासीमार्फत अज्ञात व्यक्तिको शव फेला परेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी निरीक्षक शिव कटेलको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको थियो।
घटनास्थलमा पुग्दा सो स्थानमा पहिचान नखुलेको अन्दाजि ३५ वर्षीय पुरुषको शव फेला परेको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको परिचय खुलाउन खोजतलास गर्दा कुनै पनि आफन्त वा चिनेजानेका व्यक्तिहरू फेला नपरेको जानकारी प्रहरीद्वारा दिइएको छ।
मृतकको शव परीक्षण तथा अन्य आवश्यक प्रक्रिया पूरा गरी अहिले प्रादेशिक अस्पताल, लहान सिरहाको शवगृहमा सुरक्षित रूपमा राखिएको छ। शव पहिचानका लागि इलाका प्रहरी कार्यालय लहानले सर्वसाधारण र संचार माध्यमहरूमार्फत सहयोगको अपिल गर्दै मृतकलाई चिनेका वा कुनै जानकारी भएका व्यक्तिहरूले प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
सम्पर्क विवरण:
- इलाका प्रहरी कार्यालय, लहान
- फोन नं.: ९८५२८९००४१ / ९८०२८९००४१ / ०३३-५६३१५५
प्रहरी प्रशासनले मृतकको पहिचानमा सहयोग पुर्याउन सम्पूर्ण नागरिकमा हार्दिक अनुरोध समेत गरेको छ।