लोकज्योती उत्थान केन्द्रको पहलमा चन्द्रमान ढाटी तामाङ आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण

सितल साह , सिरहा १२ साउन ०८३ । लोकज्योती उत्थान केन्द्रद्वारा सञ्चालित “विद्यालय स्वास्थ्य कार्यक्रम (School Health Programme)” अन्तर्गत श्री चन्द्रमान ढाटी तामाङ आधारभूत विद्यालय, कैलाशपुर भोर्लेनी, धनगढीमाई नगरपालिका–१३, सिरहामा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।
विद्यालयमा आयोजित अन्तरक्रिया तथा सामग्री वितरण कार्यक्रममा धनगढीमाई नगरपालिका–१३ का वडा अध्यक्ष सूर्यमान तामाङ, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा लोकज्योती उत्थान केन्द्रका प्रतिनिधिको सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई कापी, किताब, पेन, पेन्सिल तथा विभिन्न खेलकुद सामग्री वितरण गरिएको थियो। विशेष गरी आर्थिक रूपमा कमजोर, दलित तथा अति विपन्न परिवारका विद्यार्थीहरूको अध्ययनमा सहयोग पुर्याउने, उनीहरूको मनोबल बढाउने तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले लोकज्योती उत्थान केन्द्रले देशका विभिन्न सामुदायिक विद्यालयमा निरन्तर रूपमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्दै विपन्न विद्यार्थीहरूको शिक्षामा योगदान पुर्याइरहेको कार्य प्रशंसनीय रहेको बताएका थिए। यस्ता सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि र आत्मविश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।
लोकज्योती उत्थान केन्द्रले आगामी दिनहरूमा पनि विद्यालय स्वास्थ्य, गुणस्तरीय शिक्षा तथा बालबालिकाको समग्र विकासलाई लक्षित गर्दै यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।