मिति:- ३० जेष्ठ २०८३, शनिबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorized

भगवानपुरमा सडक बाट उठ्यो बाल विवाह र दाइजोविरुद्ध आवाज ।।

अशिष साह , लहान,२४ जेठ ।।। समाजमा महामारीझैँ फैलिरहेको बाल विवाह तथा दाइजो प्रथाको अन्त्य गर्ने उद्देश्यले सिरहाको भगवानपुर गाउँपालिकामा जनचेतनामूलक सडक नाटक कार्यक्रम सम्पन्न गरिएको छ। सामाजिक वातावरण विकास केन्द्र, अर्नमा गाउँपालिका–५ सिरहाको आयोजनामा तथा भगवानपुर गाउँपालिकाको सहयोगमा सञ्चालन गरिएको कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

जनकपुरका चर्चित कलाकार बिएन पटेल नेतृत्वको नाटक टोलीले मनोरञ्जन सँगै सशक्त सामाजिक सन्देश प्रस्तुत गर्दै गाउँपालिकाका विभिन्न पाँच स्थानमा सडक नाटक प्रदर्शन गरेको थियो। नाटकमार्फत बाल विवाह र दाइजो प्रथाले निम्त्याउने शारीरिक, मानसिक, शैक्षिक तथा आर्थिक समस्याहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो। साथै यस्ता कुप्रथाविरुद्ध विद्यमान कानुनी व्यवस्था तथा सामाजिक उत्तरदायित्व बारे पनि दर्शकलाई जानकारी गराइएको थियो।

भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवको प्रमुख आतिथ्य तथा अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थी, अभिभावक, शिक्षक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नाटकले समाजमा व्याप्त गलत परम्पराप्रति सोच परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रममा वक्ताहरूले “सचेत समाज, समृद्ध समाज : बाल विवाह र दाइजो प्रथा अन्त्यको आधार” भन्ने नारालाई व्यवहारमा उतार्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए। उनीहरूले बाल विवाह र दाइजो प्रथा केवल कानुनी अपराध मात्र नभई सामाजिक विकासका प्रमुख बाधकका रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि परिवार, विद्यालय, स्थानीय सरकार र समुदाय एकजुट हुनुपर्नेमा जोड दिए।

संस्था प्रतिनिधि रामेन्द्र यादवको सहजीकरण तथा कार्यक्रम सञ्चालनको शैली सहभागीहरूले निकै सराहना गरेका थिए। कार्यक्रममा उपस्थित अधिकांशले यस्ता चेतनामूलक अभियानलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।

नेपालमा बाल विवाह तथा दाइजो प्रथा अझै पनि विशेषगरी ग्रामीण क्षेत्रमा चुनौतीका रूपमा रहेको छ। बाल विवाहले किशोरीहरूको शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर पार्ने गर्दछ भने दाइजो प्रथाले आर्थिक शोषण, घरेलु हिंसा र लैंगिक विभेदलाई बढावा दिने गरेको छ। कानुनी रूपमा निषेधित भए पनि सामाजिक स्वीकृति र कमजोर कार्यान्वयनका कारण यी कुप्रथाहरू पूर्ण रूपमा नियन्त्रण हुन सकेका छैनन्।

सडक नाटक जस्ता जनमुखी अभियानले समुदायको सोच परिवर्तन गर्न, कानुनी सचेतना बढाउन तथा नयाँ पुस्तामा सकारात्मक सामाजिक मूल्य स्थापित गर्न प्रभावकारी माध्यमको रूपमा काम गर्ने विश्वास गरिएको छ। बाल विवाह र दाइजो प्रथा अन्त्यका लागि केवल सरकारी प्रयास मात्र पर्याप्त नहुने भएकाले समाजका सबै वर्ग र तहको सक्रिय सहभागिता अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker