मिति:- ३० जेष्ठ २०८३, शनिबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorized

लहान–२४ को मानिकदह डिहवार थानमा विवादित सिलालेख हटाउन गाउँवासीको माग ।

सितल साह, लहान, २६ जेठ ०८२ सिरहा । लहान नगरपालिका–२४ मानिकदह झुटकीस्थित डिहवार थान परिसरमा राखिएको विवादित सिलालेख हटाउन माग गर्दै स्थानीय गाउँवासीहरूले इलाका प्रशासन कार्यालय लहानमा ज्ञापनपत्र बुझाएका छन्। गाउँवासीहरूले उक्त ज्ञापनपत्रको बोधार्थ लहान नगरपालिका र इलाका प्रहरी कार्यालय लहानलाई समेत दिएका छन्।
लहान नगरपालिकाको करिब ६२ लाख रुपैयाँको लागतमा डिहवार थान निर्माण गरिएको थियो। स्थानीय समाजको सल्लाह, सहमति तथा सहभागितामा निर्माण सम्पन्न भई २४ घण्टे अष्टजाम कार्यक्रमसमेत सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

तर कार्यक्रम सम्पन्न भएपछि मिति २०८३ वैशाख २७ गते रातिको समयमा स्थानीय समाजलाई कुनै जानकारी वा सहमति नदिई डिहवार थान परिसरमा राखिएको सिलालेखमा राम चलितर यादव र लालबहादुर महतोलाई “मूर्तिदाता” उल्लेख गरिएको विषय सार्वजनिक भएपछि विवाद उत्पन्न भएको स्थानीयहरूको भनाइ छ।


स्थानीयवासीका अनुसार उक्त सिलालेखमा नाम उल्लेख गरिएका दुवै व्यक्ति वडा अध्यक्ष रासलाल राय राजपुतका निकट व्यक्ति रहेको आरोप लगाइएको छ। उनीहरूका अनुसार मन्दिर निर्माण नगरपालिकाको बजेटबाट भए पनि मूर्ति भने निर्माण समितिका दुई सदस्यले आफ्नो भाकल अनुसार स्थापना गरेका थिए। सोही आधारमा सिलालेखमा उनीहरूको नाम राखिएको बताइएको छ।


गाउँवासीहरूले वडा अध्यक्ष रासलाल राय राजपुतले स्थानीय समाजसँग कुनै परामर्श नगरी एकलौटी निर्णय गरेको आरोप लगाएका छन्। यस विषयमा स्थानीय समाज, बुद्धिजीवी तथा अगुवाहरूबीच पटक–पटक छलफल र बैठक बसेर विवादित सिलालेख हटाउन आग्रह गरिए पनि हालसम्म कुनै पहल नभएको उनीहरूको गुनासो छ।
स्थानीयहरूको भनाइमा उक्त सिलालेखका कारण गाउँमा असन्तुष्टि, विभाजन तथा विवादको अवस्था सिर्जना भएको छ। समयमै समस्या समाधान नभए सामाजिक सद्भाव खलबलिनुका साथै आपसी सम्बन्धमा दरार आउन सक्ने उनीहरूको चिन्ता छ।


ज्ञापनपत्रमार्फत गाउँवासीहरूले इलाका प्रशासन कार्यालयसँग सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी एकता तथा शान्तिपूर्ण वातावरण कायम राख्न आवश्यक पहल गरी विवादित सिलालेख यथाशीघ्र हटाउन पहल गरिदिन अनुरोध गरेका छन्।
ज्ञापनपत्रमा लहान नगरपालिका–२४ मानिकदह झुटकीका गाउँवासीहरूको संयुक्त हस्ताक्षर रहेको जनाइएको छ। गाउँवासीहरूले सम्बन्धित निकायले चाँडो ध्यान नदिए थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गर्न सकिने संकेत गरेका छन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker