लोकज्योती उत्थान केन्द्रद्वारा अन्तरविद्यालय वादविवाद प्रतियोगिताका लागि विद्यार्थी छनोट सम्पन्न ।।

सितल साह , सिरहा , भदाै १८ ।। लोकज्योती उत्थान केन्द्रको “विद्यालय स्वास्थ्य कार्यक्रम” OUS Project Area अन्तर्गत विभिन्न विद्यालयमा रचनात्मक कार्यक्रमअन्तर्गत अन्तरविद्यालय वादविवाद प्रतियोगिताका लागि आज आन्तरिक छनोट प्रतियोगिता सम्पन्न भएको छ।
धनगढीमाई नगरपालिका–१३ स्थित श्री चन्द्रमान तामाङ ढाँटी आधारभूत विद्यालय भर्लेनी, वडा नं.–१४ स्थित श्री मदन भण्डारी स्मृति माध्यमिक विद्यालय सर्रे अम्बास र वडा नं.–१२ स्थित हिमालय माध्यमिक विद्यालय सिमलटोकिमा विद्यार्थीहरूबीच प्रतिस्पर्धात्मक प्रक्रियाबाट दुई–दुई जना विद्यार्थी छनोट गरी प्रतियोगिताका लागि सिफारिस गरिएको छ।
छनोट प्रक्रियामा लोकज्योती उत्थान केन्द्रकी सामाजिक परिचालिका सन्तोषी चौधरी लगायत केन्द्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थी भाइबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो।
त्यस्तै, ओखलढुंगाका ४ विद्यालय—श्री पञ्चकन्या माध्यमिक विद्यालय, सुनकोशी–३, श्री पाटनदेवी आधारभूत विद्यालय, सुनकोशी–६ अम्बोटे, श्री दामती माध्यमिक विद्यालय, सुनकोशी–६ पारा लगायतका विद्यालयमा पनि आन्तरिक प्रतिस्पर्धामार्फत विद्यार्थी छनोट गरिएको छ।
आगामी भदौ २७ गते उदयपुर, कटारी–७ स्थित श्री जनप्रेमी माध्यमिक विद्यालय रिस्कुमा हुने बृहत् अन्तरविद्यालय वादविवाद प्रतियोगितामा उदयपुरका ९ विद्यालय, सिरहाका ३ विद्यालय र ओखलढुंगाका ४ विद्यालय गरी जम्मा १६ विद्यालय सहभागी हुने आयोजक टिमले जनाएको छ।
तीनवटै जिल्लाका विद्यालय स्वास्थ्य कार्यक्रमसँग आबद्ध विद्यालयहरूमा आज आन्तरिक प्रतियोगिता सञ्चालन गरी छनोट भएका विद्यार्थी भाइबहिनीहरू अन्तरविद्यालय प्रतियोगिताका लागि तयार रहेको आयोजकले जानकारी दिएको छ।

लोकज्योती उत्थान केन्द्रको विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत पढाइसँगसँगै रचनात्मक तथा अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई सहभागी गराई उनीहरूको प्रतिभा, तार्किक क्षमता, आत्मविश्वास र वक्तृत्वकला अभिवृद्धिमा टेवा पुर्याउनु हाम्रो कर्तव्य हो। यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्न, नेतृत्व क्षमता विकास गर्न तथा प्रतिस्पर्धात्मक वातावरणमा अघि बढ्न महत्वपूर्ण सहयोग पुर्याउने विश्वास गरिएको छ।
विद्यार्थीको प्रतिभा र क्षमता विकासका लागि लोकज्योती उत्थान केन्द्रको निरन्तर सकारात्मक पहल भईरहेकाे हुदा स्थानीय अभिभाव र शिक्षकद्वारा प्रशंशा गरिएकाे थियाे ।