लोक ज्योति उत्थान केन्द्रद्वारा सिरहा र उदयपुरका विभिन्न विद्यालयमा विशेष शैक्षिक अनुगमन।


सितल साह, सिरहा ,उदयपुर, १९ कार्तिक ०८३ । लोक ज्योति उत्थान केन्द्र विद्यालय स्वास्थ्य कार्यक्रम (SAHP) अन्तर्गत OUS Project Area का सिरहा र उदयपुर जिल्लाका विभिन्न विद्यालयमा केन्द्रका प्रतिनिधिहरूद्वारा विशेष शैक्षिक अनुगमन तथा अवलोकन गरिएको छ।
अनुगमनका क्रममा सिरहाको धनगढीमाई नगरपालिका र उदयपुरको कटारी तथा चौदण्डीगढी नगरपालिकाका विभिन्न विद्यालयमा पुगेर शैक्षिक अवस्था, पठनपाठनको गुणस्तर तथा शैक्षिक सामग्रीको प्रयोगबारे जानकारी लिइएको हो।
सिरहामा सहायक फिल्ड अधिकृत यदुनाथ ढुंगाना र सिरहा जिल्ला प्रतिनिधि सितल कुमार साहले २०८३ कात्तिक १९ गते धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति माध्यमिक विद्यालय, सर्रे अम्बास र धनगढीमाई–१३ स्थित चन्द्रमान ढाटी तामाङ आधारभूत विद्यालय, भोरलेनी कैलाशपुर मा अनुगमन गर्नुभएको थियो।

त्यसैगरी, उदयपुरको कटारी नगरपालिका–११ स्थित श्री सरस्वती माध्यमिक विद्यालय, हरदेनीमा २०८३ कात्तिक १८ गते लोक ज्योति उत्थान केन्द्रकी संस्था प्रतिनिधि भोजकुमारी राउतले अनुगमन गर्नुभएको थियो।
उदयपुरकै चौदण्डीगढी नगरपालिका–१० स्थित श्री भीमसेन आदर्श आधारभूत विद्यालय, देवधारमा २०८३ कात्तिक १९ गते लोक ज्योति उत्थान केन्द्र उदयपुर जिल्ला शाखाका उपाध्यक्ष उत्तरकुमार राईले अनुगमन तथा अवलोकन गर्नुभएको थियो।
अनुगमनका क्रममा कक्षाकोठामा पुगेर विद्यार्थीको सिकाइ अवस्था, पठनपाठनको प्रक्रिया, कक्षामा शिक्षकको उपस्थिति, गृहकार्य, विद्यार्थीको नियमित उपस्थिति, अनुशासन तथा मोबाइल फोनको प्रयोगलगायतका विषयमा अवलोकन गरिएको थियो। साथै विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरी पठनपाठन र सिकाइसम्बन्धी अनुभव तथा समस्याबारे जानकारी लिइएको थियो।

त्यसैगरी शिक्षकशिक्षिकाहरूसँग अन्तरक्रिया गर्दै विद्यालयको शैक्षिक अवस्था, शिक्षण सिकाइका चुनौती तथा सुधार गर्नुपर्ने पक्षबारे छलफल गरिएको थियो। केन्द्रबाट उपलब्ध गराइएका शैक्षिक सामग्री विद्यार्थीले कसरी प्रयोग गरिरहेका छन्, शैक्षिक तथा खेल सामग्रीको व्यवस्थापन र भण्डारणको अवस्था कस्तो छ भन्ने विषयमा समेत निरीक्षण गरिएको थियो। उपलब्ध सामग्रीमध्ये कति प्रयोग भइसकेको, कति बाँकी रहेको र आगामी दिनमा विद्यालयलाई थप के–कस्ता सामग्री आवश्यक पर्ने हो भन्नेबारे जानकारी संकलन गरिएको थियो।
अनुगमनकै क्रममा धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सामग्री संयोजक परिवर्तन गरी सुवाश कुमार राउतलाई जिम्मेवारी दिइएको छ। केन्द्रको निर्देशन तथा मापदण्डअनुसार शैक्षिक सामग्रीको व्यवस्थापन र प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै विद्यालयले आवश्यक प्रतिवेदन समयमै पठाउने र शैक्षिक गुणस्तर सुधारका लागि थप पहल गर्ने जनाएको छ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र मगरले विद्यालयमा माध्यमिक तहसम्म पठनपाठन सञ्चालन भए पनि शिक्षकको संख्या कम हुँदा शिक्षण सिकाइमा कठिनाइ भइरहेको जानकारी दिनुभयो। शिक्षक पदपूर्तिका लागि विज्ञापन भइसकेको र छिट्टै शिक्षक छनोट भएपछि पठनपाठन थप सहज हुने उहाँले बताउनुभयो।
केन्द्रले सिरहाको धनगढीमाई नगरपालिका तथा उदयपुरको कटारी र आसपासका क्षेत्रका विद्यालयमा नियमित रूपमा अनुगमन गर्दै आएको छ। विद्यालयमा प्रभावकारी पठनपाठन, शिक्षकको जिम्मेवारी अभिवृद्धि, विद्यार्थीको नियमित उपस्थिति, शैक्षिक सामग्रीको उचित प्रयोग तथा व्यवस्थापन र समग्र शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले पटक–पटक अनुगमन तथा अन्तरक्रिया सञ्चालन भइरहेको केन्द्रले जनाएको छ।
विद्यालयको वास्तविक अवस्था पहिचान गरी देखिएका समस्या समाधानका लागि विद्यालय प्रशासन, शिक्षकशिक्षिका र केन्द्रका प्रतिनिधिबीच सहकार्य तथा समन्वय बढाउने लक्ष्यसमेत अनुगमनले राखेको छ।







