लोकज्योति उत्थान केन्द्रद्वारा दुई विद्यालयमा विशेष अनुगमन, शैक्षिक सुधारबारे छलफल।।

सितल साह , सिरहा धनगढीमाई , ०६ असाेज ०८३ ।। लोकज्योति उत्थान केन्द्रको “विद्यालय स्वास्थ्य कार्यक्रम” (OUS Project Area) अन्तर्गत सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चन्द्रमान ढाँटी तामाङ आधारभूत विद्यालय, कैलाशपुर भोर्लेनी र वडा नं.–१४ स्थित मदन भण्डारी स्मृति माध्यमिक विद्यालय, सर्रे अम्वास मा २०८३/०६/०६ गते मंगलबार विशेष अनुगमन गरिएको छ।
लोकज्योति उत्थान केन्द्र बिद्यालय स्वास्थ्य कार्यक्रमका एजुकेसन फिल्ड अफिसर विश्वनाथ फुयल र अनुगमन प्रतिनिधि सितल कुमार साह द्वारा गरिएको अनुगमनका क्रममा कक्षाकोठामै पुगेर विद्यार्थीहरूसँग गुणस्तरीय शिक्षा, नियमित उपस्थिति, समयको सदुपयोग, घरमा नियमित गृहकार्य गरेर आउने बानी तथा उपलब्ध शैक्षिक सामग्रीको उचित प्रयोगबारे अन्तरक्रिया गरिएको थियो।

त्यसैगरी, विद्यार्थीहरूलाई मोबाइलको अनावश्यक प्रयोगबाट समयको दुरुपयोग हुने विषयमा समेत सचेत गराउँदै अध्ययनमा ध्यान केन्द्रित गर्न आग्रह गरिएको थियो। अनुगमनका क्रममा विद्यार्थीहरूको हाजिरी, शैक्षिक तथा खेलकुद सामग्रीको प्रयोग, विद्यार्थीहरूको शैक्षिक नतिजा तथा प्रथम त्रैमासिक परीक्षाका उत्तरपुस्तिका समेत जाँच गरिएको थियो।
चन्द्रमान ढाँटी तामाङ आ.वि.मा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मञ्जु कुमारी राम, वडा नं.–१३ का वडा अध्यक्ष सूर्यमान तामाङ, शिक्षक–शिक्षिका तथा विद्यालय प्रशासन र स्टेसनरी संयोजकसँग विद्यार्थीको अनुपस्थिति, विद्यालयमा विद्यार्थीको पहुँच विस्तार, अभिभावकको सहभागिता तथा विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्ने उपायका विषयमा गहन छलफल गरिएको थियो।
त्यस्तै, मदन भण्डारी स्मृति मा.वि.मा अनुगमनका क्रममा देखिएका केही सुधार गर्नुपर्ने पक्षका विषयमा विद्यालय परिवारसँग छलफल गर्दै आगामी दिनमा आवश्यक सुधार गरी शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव तथा सल्लाह प्रदान गरिएको छ।
अनुगमनका क्रममा देखिएका सकारात्मक पक्षलाई निरन्तरता दिँदै सुधार आवश्यक रहेका पक्षमा विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाबीच सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
