लोकज्योती उत्थान केन्द्र द्वारा दुई विद्यालयमा २० थान पङ्खा हस्तान्तरण, शैक्षिक सहयोग अभियान निरन्तर

सितल साह, सिराहा/उदयपुर १२ साउन ०८३। लोकज्योती उत्थान केन्द्रद्वारा सञ्चालित “विद्यालय स्वास्थ्य कार्यक्रम (School Health Program)” अन्तर्गत OUS Project Area भित्रका सामुदायिक विद्यालयहरूमा शैक्षिक तथा विद्यालय स्वास्थ्यसम्बन्धी सहयोगलाई निरन्तरता दिँदै दुई विद्यालयलाई २० थान पङ्खा हस्तान्तरण गरिएको छ।
कार्यक्रमअन्तर्गत श्री जनप्रेमी माध्यमिक विद्यालय, कटारी–७, रिस्कु लाई ४ थान वाल पङ्खा र ६ थान सिलिङ पङ्खा गरी १० थान पङ्खा प्रदान गरिएको छ। त्यसैगरी श्री सरस्वती माध्यमिक विद्यालय, भोर्ले लाई १० थान सिलिङ पङ्खा हस्तान्तरण गरिएको छ।
बढ्दो गर्मीका कारण विद्यार्थी र शिक्षकलाई सहज वातावरणमा पठनपाठन सञ्चालन गर्न सहयोग पुग्ने उद्देश्यले पङ्खा वितरण गरिएको लोकज्योती उत्थान केन्द्रले जनाएको छ। यस सहयोगबाट विद्यालयमा अध्ययन–अध्यापन थप सहज हुने तथा विद्यार्थी र शिक्षकहरूले केही मात्रामा भए पनि राहत महसुस गर्ने विश्वास केन्द्रले लिएको छ।

पङ्खा हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदाय उत्साहित देखिएका थिए। उनीहरूले यस्ता सहयोगले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
लोकज्योती उत्थान केन्द्रले विद्यालय स्वास्थ्य कार्यक्रममार्फत देशका विभिन्न सामुदायिक विद्यालयहरूमा कापी, किताब, डटपेन, खेलकुद सामग्री, विद्यालय पोशाक, पङ्खालगायत आवश्यक शैक्षिक सामग्री वितरण गर्दै आएको छ। विद्यालयको आवश्यकता पहिचान गरी गरिने यस्ता सहयोगले विद्यार्थीमैत्री वातावरण निर्माण गर्नुका साथै पठनपाठनको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
स्थानीय अभिभावक तथा जनप्रतिनिधिहरूले लोकज्योती उत्थान केन्द्रले शिक्षा क्षेत्रको विकास र विद्यालयको स्तरउन्नतिका लागि निरन्तर गरिरहेको योगदानको प्रशंसा गरेका छन्। उनीहरूले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले सामुदायिक विद्यालयहरूमा सकारात्मक परिवर्तन ल्याउने र गुणस्तरीय शिक्षाको आधार मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
