मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorized

लहान प्रहरी द्वारा अनुसन्धानका नाममा हिरासतमा युवामाथि कुटपिटको आरोप ।


सितल साह ०८३ जेठ २२ लहान, सिरहा । इलाका प्रहरी कार्यालय लहानले अनुसन्धानका लागि नियन्त्रणमा लिएका एक युवाले प्रहरी हिरासतमा आफूलाई कुटपिट तथा मानसिक यातना दिइएको आरोप लगाएका छन्।
लहान नगरपालिका–२४ निवासी २० वर्षीय अभिषेक पासमान लाई हिजो (बिहीबार) अपराह्न करिब ४ बजे अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो। पासमानलाई शुक्रबार बिहान करिब ११ बजे सोधपुछपछि छाडिएको भए पनि शरीरमा देखिएका निलडाम र चोटपटकबारे आफन्तले सोधखोज गर्दा घटनाको विषय सार्वजनिक भएको हो।


पीडित पासमानका अनुसार केही दिनअघि लहानबाट एक युवक र एक युवती भागेको घटनामा उनका नजिकका साथी भएकै कारण संलग्नता हुनसक्ने आशंकामा प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको थियो। तर सामान्य सोधपुछको नाममा राति हिरासतमा राखी घर वायरिङमा प्रयोग हुने कालो पाइपले कुटपिट गरिएको उनको आरोप छ।
पत्रकारसँग कुरा गर्दै पासमानले भने, “मलाई अनुसन्धानका लागि बोलाइएको थियो। राति प्रहरीहरूले साथी कहाँ छ, केटी लिएर कहाँ भागेको छ भनेर बारम्बार सोधे। मलाई थाहा नभएको कुरा भन्न दबाब दिँदै डर, त्रास र कुटपिट गरियो। शरीरभरि निलडाम पर्ने गरी हिर्काइयो।”


उनले आफूलाई जबरजस्ती बयान दिन दबाब दिइएको तथा साथीको अवस्थाबारे जानकारी दिन नसकेपछि शारीरिक तथा मानसिक यातना दिइएको दाबी गरेका छन्।
घटना सार्वजनिक भएपछि स्थानीयवासी तथा अधिकारकर्मीहरूले यस विषयमा निष्पक्ष छानबिनको माग गरेका छन्। अनुसन्धानको नाममा हिरासतमा रहेका नागरिकमाथि कुटपिट तथा यातना दिनु कानुनी शासन र मानव अधिकारको गम्भीर उल्लंघन हुने भन्दै उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।


यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता डीएसपी ले पासमानलाई अनुसन्धानका लागि बोलाइएको स्वीकार गर्दै कुटपिटसम्बन्धी आरोपबारे आफूलाई हालसम्म कुनै औपचारिक जानकारी नभएको बताएका छन्।
उनका अनुसार, “पासमानलाई अनुसन्धान तथा सोधपुछका लागि बोलाइएको हो। कुटपिट भएको भन्ने विषयमा जानकारी आएको छैन। यदि त्यस्तो भएको हो भने मेडिकल परीक्षणका लागि पठाएका छौं। मेडिकल रिपोर्ट आएपछि घटनाबारे थप स्पष्ट जानकारी दिन सकिन्छ।”
घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग स्थानीय स्तरमा बढ्दै गएको छ। प्रहरी प्रशासनबाटै नागरिकमाथि यातना दिइएको आरोप लाग्नु गम्भीर विषय भएकाले निष्पक्ष अनुसन्धान आवश्यक रहेको अधिकारकर्मीहरूको भनाइ छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker