लोकज्योती उत्थान केन्द्रद्वारा मदन भण्डारी स्मृति माविको प्रथम त्रैमासिक परीक्षा अनुगमन

सितल साह , सिरहा, धनगढीमाई, १२ साउन ०८३
लोकज्योती उत्थान केन्द्रद्वारा सञ्चालित “विद्यालय स्वास्थ्य कार्यक्रम (SAHP)” अन्तर्गत OUS Project Area का प्रतिनिधिले धनगढीमाई नगरपालिका–१४, सर्रे अम्बासस्थित श्री मदन भण्डारी स्मृति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको प्रथम त्रैमासिक परीक्षाको अनुगमन गरेका छन्।
विद्यालयका प्रधानाध्यापकको अनुरोधमा सम्पन्न अनुगमनका क्रममा परीक्षा शान्त, मर्यादित तथा व्यवस्थित रूपमा सञ्चालन भइरहेको अवस्थाको अवलोकन गरिएको थियो। प्रतिनिधिले परीक्षा व्यवस्थापन, विद्यार्थीहरूको सहभागिता, परीक्षा सञ्चालनको वातावरण तथा विद्यालयले अपनाएका व्यवस्थापकीय पक्षहरूको निरीक्षण गर्दै आवश्यक सुझावसमेत प्रदान गरेका थिए।
अनुगमनका क्रममा विद्यालय प्रशासनसँग परीक्षा सञ्चालन, विद्यार्थीको सिकाइ उपलब्धि, विद्यालयको शैक्षिक वातावरण तथा विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत भइरहेका गतिविधिबारे समेत छलफल गरिएको जनाइएको छ। विद्यालयमा स्वास्थ्य, सरसफाइ तथा गुणस्तरीय शिक्षालाई थप प्रभावकारी बनाउने विषयमा समेत सकारात्मक संवाद भएको थियो।

विद्यालयका प्रधानाध्यापकले विद्यालय स्वास्थ्य कार्यक्रममार्फत विद्यालयमा विभिन्न सचेतनामूलक तथा स्वास्थ्य प्रवर्द्धनका गतिविधिहरू सञ्चालन हुँदै आएको उल्लेख गर्दै यस्ता नियमित अनुगमनले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
लोकज्योती उत्थान केन्द्रले OUS Project Area अन्तर्गत विद्यालयहरूमा स्वास्थ्य, सरसफाइ, सुरक्षित सिकाइ वातावरण तथा विद्यार्थीमैत्री विद्यालय निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नियमित अनुगमन तथा समन्वयात्मक कार्यले विद्यालयको समग्र शैक्षिक तथा स्वास्थ्यसम्बन्धी गतिविधिलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
