मिति:- ८ श्रावण २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorized

सिरहामा ६५२ केजी गाँजासहित पिकअप नियन्त्रणमा

सितल साह, सिरहा, ०८३ साउन सिराहा प्रहरीले जिल्लाको अहिलेसम्मकै ठूलो लागुऔषध बरामद अभियानमा उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरीले ६५२ केजी गाँजा सहित एउटा पिकअप गाडी नियन्त्रणमा लिँदै यस प्रकरणमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।


जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बाशुदेव पाठक को निर्देशनमा मिति २०८३ साउन ६ गते प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र लागुऔषध नियन्त्रण ब्युरो सिरहाको संयुक्त टोलीले विशेष अपरेशन सञ्चालन गरेको थियो।
प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्याल को कमाण्डमा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक राजु प्रसाद ढकाल तथा लागुऔषध नियन्त्रण ब्युरो सिरहाका प्रहरी सहायक निरीक्षक जोगिन्द्र कुमार साह सहितको टोलीले लहान नगरपालिका–३ नयाँबस्ती टोलस्थित श्यामकुमारी साह को घर अगाडिको कम्पाउन्डमा पार्किङ गरी राखिएको बा.२१ च ५८६६ नम्बरको योद्धा पिकअप गाडी मा खानतलासी गरेको थियो।


खानतलासीका क्रममा गाडीको ढोका र सिसा लक अवस्थामा रहेको र पछाडिको भागमा ४६ क्यारेट नास्पाती राखिएको भेटिएको थियो। प्रहरीलाई शंका लागेपछि नास्पाती हटाएर हेर्दा त्यसको तल प्लास्टिकका सेता बोराभित्र ठूलो परिमाणमा गाँजा लुकाइराखिएको अवस्थामा फेला परेको हो।


प्रहरीका अनुसार ३१ वटा बोरा र २ वटा सेता प्लास्टिकको पोका भित्र रहेको गाँजा बरामद गरिएको छ। बोरा र प्लास्टिकसहित तौल गर्दा ६५३ केजी तथा बोरा र प्लास्टिक हटाएर तौल गर्दा ६५२ केजी गाँजा रहेको पुष्टि भएको छ। साथै गाडीमा रहेको ९२० केजी नास्पाती समेत नियन्त्रणमा लिइएको छ।
बरामद भएका सामग्रीमा:
६५२ केजी गाँजा
४६ क्यारेट (९२० केजी) नास्पाती
बा.२१ च ५८६६ नम्बरको योद्धा पिकअप गाडी
प्रहरीले नास्पातीको ओटमा ठूलो परिमाणमा गाँजा लुकाएर ओसारपसार गर्न खोजिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ। घटनामा संलग्न व्यक्ति तथा तस्करी सञ्जालको खोजी भइरहेको र आवश्यक अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पाल ले बरामद गरिएको गाँजा, पिकअप गाडी तथा अन्य सामग्री नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रहरी स्रोतका अनुसार, एकैपटक ६५२ केजी गाँजा बरामद भएको यो घटना सिराहा जिल्लाको अहिलेसम्मकै सबैभन्दा ठूलो लागुऔषध बरामद अभियानमध्ये एक मानिएको छ। प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न सञ्जालमाथि अनुसन्धानलाई थप प्रभावकारी बनाइएको जनाएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker