५ लाख घुस लिँदै आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल रंगेहात पक्राउ

सितल साह, लहान, सिरहा ०७ साउन ०८३ । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको छ।
स्रोतका अनुसार सिरहा सुपर मार्केट प्रा.लि.को आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा कर अधिकृत पालले अडिट मिलाइदिने भन्दै घुस मागेका थिए। उनले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राई लगायत अन्य व्यक्तिलाई समेत मिलाउनुपर्ने भन्दै सुरुआतमै ५ लाख रुपैयाँ मागेको आरोप छ। घुस दिएपछि मात्रै अडिट प्रक्रिया सहज बनाइने भन्दै कम्पनीसँग आवश्यक कागजात समेत पेश गराइएको बताइएको छ।
अडिटका क्रममा कार्यालयले कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ दायित्व देखाएको थियो। कम्पनीले थप कागजात पेश गरेपछि कर दायित्व अझै ३० देखि ३५ लाख रुपैयाँसम्म बढ्न सक्ने जानकारी दिइएको स्रोतको दाबी छ।
यसैबीच कर अधिकृत पालले १२ लाख रुपैयाँ दिए सबै समस्या समाधान गरिदिने प्रस्ताव राखेको र कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि अन्ततः रकम घटाएर ५ लाख रुपैयाँ मा सहमति भएको आरोप छ।
घुस लेनदेनको योजनाअनुसार कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसोदेखि विभिन्न समयसम्म प्रतीक्षा गराइएको थियो। साँझ पालले आफू गोलबजार क्षेत्रमा रहेको जानकारी दिँदै भेट्ने समय सारेका थिए। पछि एक बिचौलियाको नम्बर पठाइएको र अन्ततः रकम कार्यालयमै ल्याउन भनिएको स्रोतले जनाएको छ।
कार्यालयमै ५ लाख रुपैयाँ घुस बुझ्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कर अधिकृत युवराज पाललाई रंगेहात पक्राउ गरेको हो।घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान अघि बढाएको जनाएको छ।