मिति:- ४ भाद्र २०८२, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

सरकारी कार्यालयमै ‘रक्सी पार्टी’, रिपोर्टिङ गर्न गएका पत्रकार दिवाकर साहमाथि आक्रमण

सितल साह , लहान, सिरहा ०८२ असार २४ ।। महोत्तरीको जलेश्वरमा रहेको पूर्वाधार विकास कार्यालयभित्र रातको समयमा सञ्चालित ‘रक्सी पार्टी’को रिपोर्टिङ गर्न गएका पत्रकार दिवाकर साहमाथि आक्रमण भएको छ। असार मसान्तको बेला विकासको नाममा भइरहेको खुला लेनदेन र अनैतिक गतिविधिको सूचना पाएपछि साह प्रहरीसहित समाचार संकलनका लागि पुगेका थिए। तर, केही बेरमै सुरक्षार्थ खटिएको प्रहरी अचानक बेपत्ता भएपछि, पार्टीमा संलग्न अपरिचित व्यक्तिहरूले साह र उनका सहयोगीमाथि हातपात गरे। क्यामेरा खोसिएको र क्यामेराम्यानसमेत घाइते भएको जानकारी प्राप्त भएको छ।

घटनाको प्रत्यक्षदर्शीका अनुसार पत्रकार साहमाथि आक्रमण भइरहेका बेला घटनास्थलमै रहेकी एक महिला पत्रकारले उल्टै साहलाई तर्साउने शैलीमा गालिगलौज गर्दै, “रिपोर्टको ‘P’ पनि आउँदैन, ‘R’ पनि” भन्दै धम्की दिएकी थिइन्। पत्रकारमाथिको यस्तो व्यवहारले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठाएको छ।

उक्त घटनाप्रति मधेश प्रदेश मिडिया काउन्सिलले गम्भीर ध्यानाकर्षण जनाएको छ। काउन्सिलले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार साहमाथि भएको आक्रमणको निन्दा गरेको छ र दोषीमाथि कडा कारबाहीको माग राखेको छ। साथै, काउन्सिलले जिम्मेवार सुरक्षाकर्मीले आफ्नो कर्तव्य नपुर्‍याएको भन्दै ती प्रहरीमाथि समेत कारबाही हुनुपर्ने बताएको छ।

काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले जारी गरेको विज्ञप्तिमा पत्रकारले पत्रकार आचारसंहिताको पालना गर्नुपर्ने जत्तिकै सुरक्षा निकाय र सरकारी अधिकारीहरूले पनि स्वतन्त्र पत्रकारिताको मर्म बुझेर पत्रकारहरूको सुरक्षामा गम्भीर हुनुपर्ने उल्लेख गरिएको छ। घटनाको समयमा साहले प्रत्यक्ष प्रसारणमार्फत आक्रमणको प्रमाण सार्वजनिक गरिसकेका छन्, तर अहिलेसम्म कुनै कानुनी प्रक्रिया अगाडि बढेको देखिएको छैन।

सञ्चारकर्मीमाथि हुने दुर्व्यवहार र आक्रमणका घटनाहरू बढ्दै गइरहेका बेला यस्तो संवेदनशील विषयमा राज्य र सरोकारवालाहरूको मौनता चिन्ताजनक बन्दै गएको छ। यसरी रिपोर्टिङ गर्ने पत्रकारमाथि नै शारीरिक आक्रमण हुनु केवल एक व्यक्तिको विषय होइन, सम्पूर्ण पत्रकारिता क्षेत्रमा त्रास फैलाउने खतरनाक संकेत हो। पत्रकार सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन, दोषीमाथि कारबाही र प्रेस स्वतन्त्रताको संरक्षण आजको अपरिहार्य आवश्यकता बनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button