मिति:- १४ पुष २०८२, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

जनकपुरधाममा जसपा नेपालको विशाल प्रदर्शन : मधेशी जस्तै जेन–जी युवाहरूलाई पनि सरकारले ठग्याे



सितल साह , जनकपुरधाम, पौष १४ — संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा आवाज बुलन्द गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरधाममा विशाल जनप्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरक्षण र सुदृढीकरणका लागि मधेश प्रदेश समिति, जनकपुरको आयोजनामा सम्पन्न सभामा हजारौँ नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
सभाका प्रमुख अतिथि तथा पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुक गम्भीर आर्थिक, सामाजिक र नैतिक संकटबाट गुज्रिरहेको आरोप लगाए। उनले विगत ३५ वर्षदेखि सत्ता सम्हाल्दै आएका कांग्रेस र कम्युनिस्ट दलहरूको गलत नीति, उदारीकरण र निजीकरणका कारण देशका करिब १३५ वटा उद्योग–कलकारखाना बन्द भएको बताए। साथै सरकारी विद्यालयहरू कमजोर बन्दै गएको, कृषि क्षेत्र तहसनहस भएको र मुलुक ३३ अर्बभन्दा बढी ऋणको बोझमा फसेको दाबी गरे।


अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य र कृषि जस्ता आधारभूत क्षेत्र सम्हाल्न सरकार पूर्णरूपमा असफल भएको टिप्पणी गरे। सत्तारुढ दलहरूको शासनकालमै भ्रष्टाचार चरम सीमामा पुगेको उल्लेख गर्दै उनले संविधान संशोधन, भ्रष्टाचार न्यूनीकरण र शिक्षा सुधारका एजेन्डा जसपा नेपालले सुरुदेखि उठाउँदै आए पनि दुईतिहाइको दम्भमा ती मागहरू बेवास्ता गरिएको आरोप लगाए।
उनले वर्तमान निराशाकै कारण ‘जेन–जी’ युवाहरू विद्रोहमा उत्रिन बाध्य भएको बताए। सिंहदरबारलगायत ऐतिहासिक तथा सामरिक महत्वका संरचनामा क्षति पुगेको, नेताहरूका घरमा आगजनी भएको र सुरक्षाकर्मीको संरक्षणमा भाग्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै अध्यक्ष यादवले अहिलेको सरकारले ती आन्दोलनकारी युवाहरूलाई पनि विगतमा मधेशी जनतालाई गरिएको जस्तै झुक्याउने प्रयास गरिरहेको आरोप लगाए।


अध्यक्ष यादवले जसपा नेपाल हरेक हालतमा निर्वाचनमा जान तयार रहेको तर वर्तमान सरकार निर्वाचन गराउन असक्षम रहेको दाबी गरे। मधेश आठ जिल्लामा मात्र सीमित नभई २२ जिल्लासम्म फैलिएको भूगोल भएको उल्लेख गर्दै उनले तत्काल संविधान संशोधन गरी प्रदेशहरूको पुनर्संरचना गर्नुपर्नेमा जोड दिए। संविधान पुनर्लेखन नभएसम्म जसपा नेपाल संघर्षमै रहने उनको भनाइ थियो।
संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै उनले प्रत्यक्ष कार्यकारी प्रमुख निर्वाचित हुने व्यवस्था गर्न संविधान संशोधन अपरिहार्य रहेको बताए। हालको निर्वाचन प्रणाली अत्यन्त महँगो भएकाले आम नागरिकले पनि चुनाव लड्न सक्ने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने माग पनि उनले अघि सारे।


उनले मुलुकको कुल जनसंख्याको करिब ६० प्रतिशत मधेशी भए पनि वर्तमान निर्वाचन क्षेत्र संरचनाबाट करिब १० प्रतिशत मात्र प्रतिनिधित्व सुनिश्चित भएको भन्दै यसलाई गम्भीर विभेदको उदाहरण बताए। महिला, दलित र अल्पसंख्यक समुदाय निर्वाचन लड्न नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै उनीहरूका लागि आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था आवश्यक रहेकोमा समेत उनले जोड दिए।


विरोध सभामा सहभागीहरूले संघीयता विरोधी गतिविधि, सुशासनको अभाव, सामाजिक न्यायमाथि भइरहेको आक्रमण तथा जनजीविकासँग जोडिएका समस्याको विरोधमा चर्का नाराबाजी गरेका थिए। जनकपुरधाम–तिरहुतिया गाछीबाट सुरु भएको कार्यक्रममा मधेशका विभिन्न जिल्लाबाट हजारौँ सहभागीको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button