मिति:- १५ पुष २०८२, मंगलवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा,


ललितपुर, ९ पुस । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र स्वाधीन मधेश जनअभियानबीच औपचारिक रूपमा कार्यगत एकता घोषणा गरिएको छ। सोमबार ललितपुरस्थित जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित विशेष कार्यक्रममा दुबै पक्षले संयुक्त संघर्ष अघि बढाउने सहमति गरेका हुन्।
कार्यगत एकता सम्बन्धी घोषणापत्रमा दुबै संगठनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापनाका लागि संयुक्त रूपमा संघर्ष गर्ने स्पष्ट प्रतिवद्धता व्यक्त गरेका छन्। साथै स्थानीय तहलाई विकास निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्न दलविहिन निर्वाचन प्रणालीको पक्षमा समेत संघर्ष गर्ने सहमति गरिएको छ।
घोषणापत्रमा नेपालको संविधान अधुरो, अपुरो, त्रुटीपूर्ण तथा विभेदकारी रहेको ठहर गरिएको छ। संविधानको आवश्यक संशोधन, परिमार्जन तथा आवश्यकता परे पुनर्लेखनका लागि आन्दोलन जारी राख्ने उल्लेख गरिएको छ। विविध जात, जाति, भाषा, धर्म, संस्कृति र पहिचान भएका समुदायलाई समेट्ने गरी राज्य–राष्ट्र (State–Nation) को अवधारणा स्थापित गराउन संयुक्त प्रयास गर्ने सहमति पनि घोषणापत्रमा समेटिएको छ।


मधेश जनविद्रोहबाट स्थापित संघीय शासन प्रणालीलाई थप सुदृढ बनाउँदै प्रदेशलाई अधिकारसम्पन्न बनाउने विषयमा दुबै पक्ष एकमत भएका छन्। साथै मधेशी, दलित, महिला, जनजाति, खस, मुस्लिम अल्पसंख्यक तथा पिछडावर्गको अधिकार, पहिचान र सम्मान सुनिश्चित गर्न निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। राज्यका सबै तह र निकायमा जातीय तथा सामुदायिक जनसंख्याका आधारमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संयुक्त रूपमा आन्दोलन अघि बढाउने सहमति समेत गरिएको छ।
घोषणापत्रमा हाल कार्यगत एकताको माध्यमबाट साझा कार्यक्रमहरू सञ्चालन गर्ने र भविष्यमा आवश्यकताअनुसार संगठनात्मक एकतासमेत गर्न सकिने विषय उल्लेख गरिएको छ।


कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेश जनअभियानका संयोजक कैलाश महतोले संयुक्त रूपमा कार्यगत एकताको घोषणापत्रमा हस्ताक्षर गरेका थिए। दुबै नेताले मधेश र उत्पीडित समुदायको अधिकारका लागि साझा संघर्ष अपरिहार्य रहेको भन्दै एकताले आन्दोलनलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button