मिति:- २ आश्विन २०८२, बिहीबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

चुरे विनाश विरोधी कडा आवाजः २१६ रुख कटानप्रति कारबाहीको माग

सितल साह , सिरहा, २०८२/असाेज /०२ ।। चुरे तथा नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजले महोत्तरीको टुटेश्वरनाथ साझेदारी वनमा भएको २१६ वटा रुख अनियमित कटानप्रति गम्भीर आपत्ति जनाउँदै दोषीहरूमाथि तुरुन्त कारबाहीको माग गरेको छ। समाजले चुरे क्षेत्रको अनियन्त्रित दोहन र अवैध उत्खननले तराई–मधेसको जलस्रोत, कृषिजन्य उत्पादन र भुभागीय स्थिरतामा दीर्घकालीन प्रभाव पार्ने बताउँदै यस विषयमा सरकार तथा सम्बन्धित निकायहरूलाई सक्रिय हुन आह्वान गरेको छ।

समाजका अध्यक्ष अभरेन्द्रकुमार यादवले भने कि चुरे र नदी प्रणाली मात्र पारिस्थितिक संरचना नभई स्थानीय जीवनशैली र परम्परासँग जोडिएको अलौकिक संरचना हो। तर विगतका दिनहरूमा भूअतिक्रमण, वन विनाश र चरिचरणका कारण यहाँको पारिस्थितिकी प्रणाली संकटमा परेको हुनाले समुदायको दैनिकी र कृषि प्रणाली समेत जोखिममा परेको उनको भनाइ छ। उनले थपे कि युवा आन्दोलनको नाममा गरिएका यी अनियन्त्रित गतिविधिहरूले आन्दोलनको मर्मलाई पनि हानि पुर्‍याएको देखिन्छ।

समाजले एक विज्ञप्ति मार्फत स्थानीय प्रशासन, वन कार्यालय र सुरक्षा निकायहरूको मौनतालाई चिन्तास्पद ठहराउँदै दोषी माफिया तथा तस्करहरूलाई रोक्न तत्काल प्रभावकारी कदम चालिनुपर्ने जोड दिएको छ। टुटेश्वरनाथ साझेदारी वनमा भएको कटानीप्रति सरकारले छानबिन गरी दोषीहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने, साथै भविष्यमा यस्ता घटनाहरू नघट्न कडा निगरानी र अनुगमन प्रणाली लागू गर्नुपर्ने मांग गरिएको छ।

चुरेको दोहनले मधेसलाई अघिल्लै पानीको चरम सङ्कट व्यहोर्नु परेको उल्लेख गर्दै समाजले स्थानीयस्तरमा संरक्षणसम्बन्धी दीर्घकालीन नीति निर्माण र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताएको छ। साथै अवैध उत्खनन र अतिक्रमण रोक्न स्थानिय जनसहभागिता, सचेतना कार्यक्रम र वैकल्पिक जीविकोपार्जनका उपायहरू अगाडि बढाउनु पर्ने तर्क राखिएको छ।

समाजले घटनाको पारदर्शी छानबिन र दोषीहरूमाथि कडाइका साथ कानुनी कारबाहीको माग गर्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई तुरुन्त सचेत हुन आग्रह गरेको छ। यदि समयमै प्रभावकारी कदम नचालिएमा भू–क्षरण, बाढी तथा पानी स्रोत सुख्खा हुने जस्ता गम्भीर परिणामहरू उत्पन्न हुन सक्ने विज्ञप्तिमा चेतावनी दिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button