मिति:- १८ कार्तिक २०८२, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

लहानमा नगर प्रमुख चाैधरी र अधिकृत झा बिरुद्ध नारा जुलुस र प्रदर्शन

सितल साह , लहान ,सिरहा, भदौ २२ । लहान नगरपालिकामा आज बिहानदेखि पुनः तनावग्रस्त अवस्था सिर्जना भएको छ। नगरप्रमुख महेश चौधरी र प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको निर्देशनमा उप–प्रमुख रामचलितर महतोलाई नगरपालिकामा प्रवेश गर्न रोक लगाइएको छ।

बिहान १० बजे कार्यालय जान पुगेका उप–प्रमुख महतोलाई नगर प्रहरी शम्भु बस्नेतले “माथिबाट आदेश आएको छ” भन्दै गेटमै रोक लगाएका थिए। यस्तै, सेवाग्राहीलाई समेत कार्यालयमा प्रवेशमा रोक लगाइएको कारण उनीहरू आक्रोशित बने। सेवाग्राहीहरूले “हामीलाई किन रोकेको?” भन्दै कार्यालय गेटमै होहल्ला गरे र नगरप्रमुख चौधरी र अधिकृत झाविरुद्ध नाराजुलुस निकाले।

जनताले नगरप्रमुख चौधरीको तानाशाही शैलीविरुद्ध खुलेआम विरोध गरेका थिए भने उप–प्रमुख महतोको कार्यकक्षमा लगाइएको तालाबन्दीका कारण न्यायिक समितिमा उजुरी दिन आएका सेवाग्राही पनि दिनभर सास्ती खेप्न बाध्य बने।

यसअघि मलखादको सम्बन्धि अधिकार हनन गरेकाे विषयलाई लिएर भएको विवादपछि उप–प्रमुख महतोले अधिकृत झाको कार्यकक्षमा तालाबन्दी गरेका थिए। सोही घटनालाई आधार मानेर केही वडा अध्यक्षहरूको टिमले पूर्वाग्रही ढंगले उप–प्रमुख महतोको कार्यकक्षमा तालाबन्दी गरेका थिए। यही घटनाको निरन्तरता स्वरूप आज पुनः नगरपालिका तनावग्रस्त बनेको स्थानीयले बताएका छन्।

नगरप्रमुख चौधरी र अधिकृत झाविरुद्ध आक्रोशित उप–प्रमुख समर्थकहरूले नगरपालिकाको मुख्य गेटअगाडि “भ्रष्ट मेयर मुर्दाबाद” र “अधिकृत झा मुर्दाबाद” जस्ता नारा लगाउँदै टायर बालेर प्रदर्शन गरेका थिए। समर्थकहरूले चेतावनी दिँदै भनेका छन्, “यदि अवस्था यस्तै रह्यो भने अब मोर्चाबद्ध शक्तिशाली आन्दोलन गरिनेछ।”

पछिल्ला केही महिनादेखि उप–प्रमुखको अधिकार हनन गर्दै नगरप्रमुख चौधरी र अधिकृत झाले विभिन्न निर्णय गर्दै आएको भन्दै उप–प्रमुख महतो सामाजिक सञ्जाल र भिडियोमार्फत निरन्तर विरोध गरिरहेका छन्।

आज समर्थकहरूसँग बोल्दै महतोले मेयर, केही वडा अध्यक्षहरू अधिकृतसँग मिलेर आफूविरुद्ध ज्यादती गरेको आरोप लगाए। समर्थकहरूले पनि “यस्तो तानाशाही व्यवहार किन भइरहेको हो?” भन्दै भित्र पस्न खोज्दा प्रहरीले रोकेपछि अवस्था थप तनावग्रस्त भएको थियो। यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ।

यता, आन्दोलनलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय लहानका डिएसपीको सहकार्यमा उप–प्रमुख महतोको कार्यकक्षमा लगाइएको ताल्चा खोलिएको जानकारी महतोका एक समर्थकले दिएका छन्। समर्थकहरुका भनाई अनुसार आन्दोलनकाे खाका तयार गरि नगरपालिकामा भईरहेकाे भ्रष्टाचार , बेतिथि,अनियमितता बिरुद्ध आफुहरु माेर्चा बनाई शशक्त रुपमा आन्दोलनलाई अगाडि बढाउने बताउनु भयाे ।

लहान नगरपालिकामा लामो समयदेखि चल्दै आएको विवाद आज पुनः उत्कर्षमा पुगेको छ र आगामी दिनमा अझै ठूलो राजनीतिक सङ्कट सिर्जना हुने अनुमान गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button