अध्यक्ष सीके राउतको “घमण्डपूर्ण स्टाटस” पछि जनमत पार्टीका ६ शीर्ष नेताको सामूहिक राजिनामा

सितल साह , सिरहा , २०८२ असोज २ –
जनमत पार्टीमा लामो समयदेखि बढ्दै गएको असन्तुष्टि आज निर्णायक चरणमा पुगेको छ। हिजो मात्र अध्यक्ष डा. सीके राउत र उनका दाइ जयकान्त राउतलाई २४ घण्टे अल्टिमेटम दिँदै राजिनामा माग गर्ने विज्ञप्ति सार्वजनिक गरिएको थियो। तर, सो मागलाई गम्भीरतापूर्वक लिनुको सट्टा अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत “असन्तुष्ट सबै यही मौकामा पार्टी छोडेर जानुस” भन्ने अंहकारपूर्ण र गैरजिम्मेवार भनाइ सार्वजनिक गरेपछि पार्टीभित्र असन्तुष्टि तीव्र बनेको हो।
अध्यक्ष राउतकाे भनाई प्रिय साथीहरू, यो राम्रो मौका हो पार्टी छोड्ने। यदि कसैलाई पार्टीमा उकुसमुकुस लागि रहेको छ, अनुशासनमा बस्न सकिँदैन, एउटै पार्टीमा बस्दाबस्दै वाक्क लाग्यो र नयाँ पार्टी रोज्न वा खोल्न चाहनु हुन्छ, पार्टीमा नै बसेर दिनरात पार्टीको विरोध गर्नुपरेको छ, भित्रभित्रै पार्टीलाई खोक्रो बनाउनु परेको छ भने योभन्दा राम्रो मौका आउनेछैन। किनकि अहिले कुनै बहाना पनि चाहिँदैन भन्ने घमण्डकारी भनाई प्रती केही पार्टी कार्यकर्ता पनि असंतुष्ट वयक्त गरेका छन । पार्टीको आन्तरिक विवादलाई मिलाएर जानुपर्ने अधिकांस नेता कार्यकर्ताको भनाई रहेेकाे थियाे ।
त्यसको प्रतिफलस्वरूप आज वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सि.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्यसमेत रहेका केन्द्रीय सदस्य विक्रम बहादुर बमले सामूहिक राजिनामा घोषणा गरेका छन्।
नेताहरुले सार्वजनिक गरेको विज्ञप्तिमा नेपालको विषम राजनीतिक परिस्थितिमा जनभावनालाई सम्मान गर्दै पार्टी नेतृत्वमा आत्मआलोचना र परिवर्तनको माग गरिएको तर अध्यक्षले उल्टै जेन्जी पुस्ताले बगाएको रगतको अपमान गर्ने गरी अंहकारपूर्ण व्यवहार देखाएको उल्लेख गरिएको छ। उनीहरुले यस्तो परिस्थितिमा अब पार्टीमा बस्ने कुनै औचित्य नरहेको स्पष्ट पारेका छन्।
राजिनामा दिने नेताहरुले आफूहरु कुनै प्रकारको पद–स्वार्थको राजनीतिमा नभई नयाँ पुस्ताको चाहना र जनभावनाअनुरुप भविष्यमा सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, लामो समयदेखि साथ र सहयोग गर्दै आएका जनमत पार्टीका शीर्ष नेतृत्वदेखि विभिन्न तहका नेता तथा कार्यकर्ताहरुप्रति आभार व्यक्त गरेका छन्।
यस घटनाले जनमत पार्टीभित्रको आन्तरिक विवाद सार्वजनिक रूपमा चर्किएको छ र नेतृत्व संकट अझ गहिरिने संकेत देखिएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ।
