सुरुङ्गा–१० थलहामा प्रेम विवाह गरेकी युवतीलाई कालकोठरीमा थुनी यातना, प्रहरी मौन

सितल साह, ८ असोज ०८२ ।
सप्तरीको सुरुङ्गा नगरपालिका–१०, थलहामा सामाजिक सहमतिमा सम्पन्न भएको एक प्रेम विवाह दुःखद मोड लिएको छ। दाइजोको लोभ र पारिवारिक दबाबका कारण केटा पक्षले नवविवाहिता महिलामाथि यातना दिइरहेको घटना बाहिर आएको हो।
थलहा निवासी नागेश्वर यादव (बम भोला) का २५ वर्षीय छोरा नागेश्वर यादव (नुनु) र त्यही गाउँका तारा चन्द्र यादवकी २१ वर्षीया छोरी प्रियंका यादवबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। एउटै जात र थर भएकाले टिकुलिया समाजको रोहबरमा असोज १ गते स्थानीय मन्दिरमा विवाह गराइयो।
तर विवाहको भोलिपल्टैदेखि अवस्था पल्टियो। युवक आफ्नै पिताको दबाबमा घर छाडेर भागे भने नवविवाहिता प्रियंका ससुरालमै बस्न बाध्य भइन्। त्यसयता उनलाई बुबा–ससुराले बन्धकझैँ एक अँध्यारो कोठामा थुनी खाना–पानी समेत बन्द गरिदिएका छन्। स्थानीयका अनुसार भोक–प्यास सहन नसकी आफैँ घर छोडून् भन्ने दबाब दिन यसरी यातना दिइएको हो। पत्रकार पुगेका बेला केटाका पिता घर छाडेर बाहिर गइसकेका थिए।
युवतीले आफूलाई जस्तोसुकै यातना दिँदा पनि श्रीमानकै घरमै बस्ने अडान दोहोराएकी छिन्। तर, केटा पक्षका काका शम्भुनाथ यादवले विवाह जबर्जस्ती गराइएको दाबी गर्दै कुनै हालतमा बुहारी स्वीकार नगर्ने बताइरहेका छन्।
स्थानीयहरूले दाइजोको लालचका कारण गरीव परिवारकी छोरीलाई अस्वीकार गरिएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, अरु ठाउँ विवाह गर्दा मोटाे दाइजो पाउने भएकाले प्रियंकालाई घर निकाला गर्न खोजिएको हो।
घटनाबारे प्रहरी प्रशासनलाई उजुरी दिइए पनि उजुरी दर्ता नगरेको, पिडित पक्षको कुरा नसुनेको र आलटाल गरेको स्थानीयले बताएका छन्। यसले गर्दा घटनामा राजनीतिक संरक्षण रहेको आशंका बढेको छ।
समाजका अगुवा, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय राजनीतिकर्मीहरूले दुई युवाको प्रेम सम्बन्धलाई स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले एक सातादेखि युवतीलाई कालकोठरीमा थुनी खाना–पानी बन्द गर्नु अमानवीय कार्य भएको भन्दै भोलि केही अनहोनी भए केटाका अभिभावकलाई नै जवाफदेही बनाउनु पर्ने चेतावनी दिएका छन्।
प्रियंकाको सुरक्षा, न्याय र अधिकार सुनिश्चित गर्न राज्यले तत्काल कदम चाल्नु अपरिहार्य भएको छ। प्रेम कुनै अपराध होइन, तर प्रेम गर्ने युवतीलाई कालकोठरीमा थुन्नु भने मानवता विरुद्धको अपराध हो।