मिति:- ४ भाद्र २०८२, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

तराई मधेश संकटमा—जसपा नेपाल, सिरहा द्वारा केन्द्र र प्रदेश सरकारलाई गम्भीर चेतावनी

सितल साह ,सिरहा, लहान ,०८२ साउन १८। जनता समाजवादी पार्टी, नेपाल (जसपा) जिल्ला कार्य समिति, सिरहा द्वारा हाल तराई-मधेशमा देखिएको भीषण खडेरी, सिचाइ अभाव, मलखाद्य संकट, खानेपानी समस्यालगायत विषयमा संघीय सरकार तथा मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) कार्यालयमार्फत एक गम्भीर ध्यानाकर्षण पत्र बुझाइएको छ।

सिरहा सिडियो कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौँ र मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, जनकपुरधामलाई सो पत्र पठाइएको हो। जसपाका जिल्ला अध्यक्ष अशोक कुमार यादव नेतृत्वमा उक्त पत्र बुझाउने टोलीमा जसपा नेपालका विभिन्न नेता मा.राज कुमार गुप्ता ,मा.ललिता दास, महिला नेत्री रेणु यादब , प्रेस मञ्च नेपालका मधेस प्रदेश अध्यक्ष तथा चुरे तथा नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजको कार्यवाहक अध्यक्ष अभरेन्द्र यादव,समाजवादी बिद्यार्थी युनियन सिरहा जिल्ला अध्यक्ष उमेश साह लगायतका बिशिस्ट नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।

अध्यक्ष अशाेक यादवले जानकारी गराएअनुसार मधेशका सबै जिल्लामा लामो समयदेखि वर्षा नहुनुका कारण अधिकांश किसान खेती गर्नबाट वञ्चित छन्। सिमित सिचाँई भएका क्षेत्रहरूमा पनि मलखाद्यको चरम अभाव रहेको छ। वितरण प्रणालीमा भ्रष्टाचार तथा राजनीतिक पहुँचको कारण वास्तविक किसान मलखाद्यबाट बञ्चित हुँदै आएको भन्दै उनले आक्रोश व्यक्त गरे।

त्यस्तै, खानेपानी संकटसमेत विकराल बनिरहेको उल्लेख गर्दै  “चापाकल र धारामा पानी नआउनु, भूगर्भ जलको सतह तल जानु, वर्षेनी बढ्दै गएको जलसंकटको स्पष्ट संकेत हो, तर सरकारहरूको ध्यान यसतर्फ गम्भीर देखिँदैन।”

ध्यानाकर्षण पत्रमा समेटिएका ११ बुँदे मागहरू निम्नानुसार छन।

  1. सुख्खाग्रस्त क्षेत्रमा सिचाइको तत्काल व्यवस्था होस्।
  2. किसानका कृषि ऋणमा छुट प्रदान गरियोस्।
  3. मलखाद्य वितरण न्यायोचित र पारदर्शी बनाइयोस्।
  4. खानेपानीको तत्काल समाधान गरियोस्।
  5. दीर्घकालीन जल समाधानका लागि चुरे संरक्षण र जलाशय निर्माण गरियोस्।
  6. बोरिङ जडान प्रक्रियामा सहजता र विभेदरहित नीति ल्याइयोस्।
  7. नदी, कुलो, नहर, पोखरीहरू मर्मत गरि सतही सिचाइ प्रवर्द्धन गरियोस्।
  8. कृषि ऋण, यन्त्र उपकरणहरू अनुदानमा उपलब्ध गरियोस्।
  9. चुरे दोहन र अवैध कसर उद्योग तुरुन्त बन्द गरियोस्।
  10. अधुरो रिंग बाँध र डिप ट्युवेल परियोजनाहरू तुरुन्त सञ्चालनमा ल्याइयोस्।
  11. अलपत्र परेका ३०० खानेपानी आयोजना तत्काल सम्पन्न गरियोस्।

अध्यक्ष यादवले चेतावनी दिँदै भने, “यदि संकटको घडीमा पनि जनतालाई राहत र सहयोग पुग्दैन भने, हामी चुप लागेर बस्नेछैनौं। जनहितको सवालमा आन्दोलन गर्न समेत पछि हट्ने छैनौं।”

यसअघि पनि जसपा नेपालले देशका विभिन्न जिल्लामा सिडियो कार्यालयमार्फत यस्तै ध्यानाकर्षण गराउँदै सरकारको ढिलासुस्ती, बेवास्ता र जनविरोधी कार्यशैलीप्रति आवाज उठाउँदै आएको छ।

तराई–मधेशलाई देशकै अन्न भण्डार मानिने गरिन्छ। यस्ता क्षेत्रमै संकटको अवस्था आउँदा पनि सरकारले देखाएको उदासीनता प्रति जसपा नेपालले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button