मिति:- १२ कार्तिक २०८२, मंगलवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

लहानमा जेनजीद्वारा मन्त्री बब्लु गुप्तालाई ६ बुँदे ध्यानाकर्षण पत्र

सितल साह, ०८२ कार्तिक ११ लहान, सिरहा । जेनजी लहान सिरहाद्वारा आयोजित सम्मान तथा भेटघाट कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई लहान र आसपासका युवाको समस्या, विकास र खेलकुद पूर्वाधारसँग सम्बन्धित मागसहितको ६ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ। कार्यक्रममा स्थानीय युवाहरू, सामाजिक अभियन्ता, जनप्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ध्यानाकर्षण पत्र बुझाइसकेपछि बोल्दै मन्त्री गुप्ताले लहानको खेलकुद क्षेत्रसँग सम्बन्धित एक महत्वपूर्ण विषय उजागर गर्दै बलान पुल नजिक रहेको ७ विगहा ५ कठा १७ धुर जग्गाको उचित रकम नउठेर नीतिगत भ्रष्टाचार भएको बताएका छन्। उहाँले पत्रकारहरूसँग कुरा गर्दै भने, “यो समस्या लहानमा मात्र होइन, देशभरि नै यस्तै समस्या विद्यमान छन्। मन्त्रालय मातहतको यो जग्गा अहिले खोजीमा छ, फाइल अनुसन्धानको प्रक्रियामा पुगेको छ र दोषीलाई कारबाही गर्ने तयारी भइरहेको छ।” मन्त्री गुप्ताले खेलकुद क्षेत्रका सम्पत्ति र पूर्वाधार सुरक्षित गर्न मन्त्रालय गम्भीर रहेको बताउँदै यस प्रकरणमा पूर्ण छानबिन गरिने स्पष्ट पार्नुभयो।

यसअघि जेनजी लहान सिरहाले बुझाएको ध्यानाकर्षण पत्रमा लहान र सिरहा क्षेत्रका युवाहरूका दीर्घकालीन माग र विकासका विषय समेटिएका छन्। सो पत्रमा रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा राजस्व कर मिनाहा गरी अस्पतालकै नाममा पास गर्न र सो अस्पताललाई ट्रमा सेन्टरसहितको स्तरीय स्वास्थ्य संस्थाका रूपमा विकास गर्न माग गरिएको छ।

त्यसैगरी, पटक–पटक आश्वासन दिइए पनि कार्यान्वयन नहुँदै आएको सिरहा र धनुषालाई जोड्ने कमला पुलको निर्माण तत्काल सुरु गर्न, लहान नगरपालिकाभित्र अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला (स्टेडियम) निर्माण गर्न र लहानको ऐतिहासिक खेलमैदानलाई आधुनिक संरचनासहित—दर्शकदीर्घा, ड्रेसिङ रुम, शौचालय, खानेपानीजस्ता सुविधासहित—पुनर्निर्माण गर्न माग गरिएको छ। साथै विद्यालय र कलेजस्तरका प्रतियोगितामार्फत “युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम” सञ्चालन गर्न पनि जेनजीले सुझाव दिएको छ।

युवामा बढ्दो बेरोजगारीको समस्या समाधानका लागि प्राविधिक तथा स्वरोजगारमुखी तालिमहरू सञ्चालन गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने माग गरिएको छ, जसले युवालाई विदेश पलायन हुनबाट रोक्ने अपेक्षा गरिएको छ। साथै शहीद विजय चौधरीको नाममा शालिक निर्माण, ‘विजय पथ’ नामकरण र उहाँकै नाममा विद्यालय स्थापना गर्ने कार्य शीघ्र सुरु गर्न पनि ध्यानाकर्षण पत्रमार्फत अनुरोध गरिएको छ।

कार्यक्रममा बोल्दै जेनजीका प्रतिनिधिहरूले लहान र सिरहा क्षेत्रका युवाहरूका मागहरू दीर्घकालीन परिवर्तनका लागि उठाइएको बताउँदै सरकारप्रति सकारात्मक पहलको अपेक्षा व्यक्त गरे। मन्त्री गुप्ताले युवाहरूको भावना, ऊर्जा र सुझावलाई प्राथमिकतामा राख्दै मन्त्रालयमार्फत लहानलाई खेलकुद, स्वास्थ्य र पूर्वाधार विकासको केन्द्रको रूपमा रूपान्तरण गर्ने जनाउनुभयो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button