चुरे संरक्षण र मधेशको मरुभूमिकरणविरुद्ध संघर्षमा जसपा नेपाल सधैं अग्रसर:अशेश्वर यादव

सितल साह , सिरहा, २०७८ साउन ७ —
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य अशेश्वर यादवले चुरे संरक्षण तथा मधेशको पर्यावरणीय संकटविरुद्ध पार्टीको अडान स्पष्ट पार्दै यस विषयमा राज्यको बेवास्ता प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
यादवका अनुसार मधेसी जनअधिकार फोरम, नेपालदेखि हालको जसपा नेपालसम्मको राजनीतिक यात्रामा चुरे संरक्षणको मुद्दालाई प्राथमिकतामा राख्दै विभिन्न सम्मेलन, महाधिवेशन, नीति दस्तावेज, तथा चुनावी घोषणापत्रमा निरन्तर चर्चा गरिँदै आएको छ।
उनले भने, “हामीले चुरे संरक्षणको मुद्दा उठाउँदै मात्र छाडेका छैनौं, सम्बन्धित अध्यादेश पारित गराउनेदेखि ऐन र विधेयक निर्माणसम्म सक्रिय पहल गरेका छौं। यो हाम्रो राजनीतिमा एउटा मूल मुद्दा हो, जसको चुरोमा जलवायु न्याय, पर्यावरणीय समानता र तराई-मधेशको जीवन्तता जडित छ।”
हाल तराई-मधेशमा पानीको हाहाकार छ, वर्षेनी बाढी र सुख्खा चक्रले जनजीवन अस्तव्यस्त भइरहेका छन्। चुरे दोहन, वन विनाश र अवैज्ञानिक ढंगले भइरहेको उत्खननका कारण मधेश मरुभूमिकरणतर्फ उन्मुख हुँदै गएको यादवको तर्क छ। तर, यति गम्भीर अवस्थाका बाबजुद पनि चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा “राष्ट्रपति चुरे संरक्षण कार्यक्रम”का लागि कुनै बजेट विनियोजन नगरिनु राज्यको गैरजिम्मेवारीपन दर्शाउने तथ्य भएको उनले बताए।
“हामीले पानी, वन, जमिन र जलवायुका लागि अब बहस मात्रै हैन, ठोस र प्रभावकारी संघर्ष आवश्यक छ। राज्यको उदासीनता र गैरजवाफदेहीपनको सामना गर्दै जनसंगठन, नागरिक समाज र युवाहरू मिलेर ठोस रणनीतिका साथ अघि बढ्न जरुरी भइसकेको छ।” — उनले जोड दिए।
यादवले मधेशका जनताको असमानता, विभेद, शोषण र पर्यावरणीय उत्पीडन अन्त्यका लागि सबै सचेत नागरिक, राजनीतिक दलहरू र सामाजिक अभियानकर्मीहरूलाई संयुक्त रुपमा एक ठाउँमा उभिएर संघर्षको तयारीमा लाग्न आह्वान समेत गरेका छन्।
चुरे संरक्षणको सवाल केवल वनजंगलको संरक्षण मात्र नभई मधेशको भविष्य, कृषि, जलस्रोत र अस्तित्वको सवाल भएको भन्दै उनले राज्यसंरचना र नीति निर्माण तहमा मधेशमैत्री दृष्टिकोण विकासको माग समेत गरेका छन्।