जसपा नेपालको सरकारलाई समर्थन फिर्ता: ओली नेतृत्व असफल भएको निष्कर्षसहित संसदीय दलको बैठकको निर्णय

सितल साह , असार ३२ गते, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले वर्तमान के.पी. शर्मा ओली नेतृत्वको सरकारप्रति दिएको समर्थन फिर्ता लिएको छ । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारको कार्यसम्पादनप्रति गम्भीर असन्तोष जनाउँदै अबदेखि विपक्षमा बस्ने निर्णय गरेको हो ।
बैठकले सरकार विगतको कार्यकालभर जनअपेक्षा अनुरूप नचलेको ठहर गर्दै ११ बुँदे आलोचनात्मक समिक्षा सार्वजनिक गरेको छ । जसपाका अनुसार वर्तमान सरकारले जनतालाई सुशासनको प्रत्याभूति गराउन असफल भएको छ । साथै भ्रष्टाचार, कमिशन तन्त्र, अनियमितता र दण्डहीनता नियन्त्रण गर्न नसकेको आरोप लगाइएको छ ।
बैठकले मुलुकको आर्थिक अवस्था जर्जर बनाउँदै अ.ब. २०८२/८३ को बजेट समेत असन्तुलित र पूर्वाग्रहीत ढंगले प्रस्तुत गरिएको उल्लेख गर्दै सरकार आर्थिक विकासका प्रमुख सूचकहरू सुधार गर्न असफल भएको बताएको छ ।
संघीयता कार्यान्वयनमा कुनै ठोस प्रयास नगरिएको, कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकासमा सरकार गम्भीर नभएको तथा स्वच्छ पानी, शिक्षा, स्वास्थ्य लगायतका सेवामा गुणात्मक सुधार गर्न नसकेको आरोप पनि बैठकले लगाएको छ ।

जसपाले संविधान संशोधनप्रति सरकारको उदासिनता, उत्पीडित वर्ग, समुदाय तथा आन्दोलनका क्रममा गिरफ्तार गरिएका राजबन्दीहरूलाई रिहा नगरेको, किसानलाई आवश्यक सेवा र सुविधा उपलब्ध नगराइएको तथा बेरोजगारी हटाउन कुनै प्रभावकारी कदम नचालिएको भन्दै सरकारलाई पूर्ण रूपमा असफल घोषणा गरेको हो ।
यसै सन्दर्भमा बैठकले यस्तो असफल सरकारलाई पार्टीले दिएको समर्थनको अब कुनै औचित्य नरहेको ठहर गर्दै समर्थन फिर्ता लिने र विपक्षमा बस्ने निर्णय सार्वजनिक गरेको हो ।
पार्टीले अब संसदमा जनताका मुद्दा सशक्त ढंगले उठाउँदै सरकारको गलत नीति, निर्णय र कार्यशैलीविरुद्ध खबरदारी गर्ने जनाएको छ ।