सुशासनमा असफल सरकारलाई जसपाको समर्थन पुनर्विचारको तयारी

काठमाडौं, असार ०९
जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारप्रति समर्थन फिर्ता लिने सम्भावना औपचारिक रूपमा संकेत गरेको छ। काठमाडौंमा असार ७ र ८ गते सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले सरकारप्रति गम्भीर असन्तोष जनाउँदै समर्थनबारे पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिएको हो।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको उक्त बैठकले सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, संविधान संशोधन तथा आर्थिक सुधारजस्ता मुख्य राजनीतिक र नीतिगत मुद्दाहरूमा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ। बैठकले सरकारको कार्यशैलीले लोकतान्त्रिक मूल्य, सङ्घीयता र सामाजिक न्यायको मर्मलाई कमजोर बनाएको उल्लेख गर्दै तीव्र आलोचना गरेको छ।
जसपाले विगतमा सरकारलाई दिएको समर्थन संघीयता, समावेशिता र संविधान संशोधनजस्ता एजेन्डाको लागि हो भन्ने स्पष्ट पार्दै अहिलेको सरकार ती मुद्दाहरूमा प्रतिवद्ध नरहेको आरोप लगाएको छ। केन्द्रीय समिति बैठकमा सहभागी नेताहरूले वर्तमान गठबन्धन सरकारमा पार्टीको उपस्थिति जनताका पक्षमा उपयोगी हुन नसकेको धारणा राखेका थिए।
पार्टी प्रवक्ता मनिष सुमनले भने, “सरकारले हाम्रो पार्टीका मुख्य एजेन्डाहरूको बेवास्ता गर्दै आएको छ। भ्रष्टाचार र कुशासनविरुद्धको हाम्रो धारणा स्पष्ट छ। अब समर्थनलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा संसदीय दलले चाँडै निर्णय लिनेछ।”
स्रोतका अनुसार अब जसपा संसदीय दलको बैठक बसेर अन्तिम निर्णय लिने तयारीमा छ। सो निर्णय संसदमा प्रत्यक्ष रूपमा देखिनेछ। जसपाका केही सांसदहरूले व्यक्तिगत रूपमा पनि सरकारप्रति असन्तुष्टि जनाउँदै आएका छन्।
सरकारमा जसपाको समर्थन निर्णायक बन्ने अवस्थामा यस कदमलाई राजनीतिक रूपमा गम्भीर मोडको संकेतका रूपमा हेरिएको छ। यो निर्णयले वर्तमान गठबन्धनको स्थायित्व र संसदभित्रको समीकरणमा प्रभाव पार्न सक्ने विश्लेषण गरिँदैछ।जसपाले समर्थन फिर्ता लिने संकेतले राजनीतिक गर्मी बढाएको छ।