मिति:- ३२ जेष्ठ २०८२, शनिबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

प्रदेश सांसद राज कुमार गुप्ता द्वारा लक्ष्मीपुर पतारी–भौर सडककाे शिलान्यास सम्पन्न ।।

सितल साह, सिरहा, जेठ ३१, २०८२
सिरहा जिल्लाका दुई प्रमुख गाउँपालिका—लक्ष्मीपुर पतारी र सखुवानन्कारकट्टी—लाई भौरसम्म जोड्ने सडक स्तरोन्नति कार्यको औपचारिक शिलान्यास सम्पन्न भएको छ। मधेस प्रदेश सांसद राजकुमार गुप्ता (राजू) को प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास समारोहले स्थानीयवासीमा विकासप्रतिको विश्वास बलियो बनाउँदै उत्साहको नयाँ लहर ल्याएको छ।

सांसद गुप्ताले चुनावी अभियानको क्रममा लक्ष्मीपुर पतारी र सखुवानन्कारकट्टीलाई सडक मार्फत सशक्त रुपमा जोड्ने प्रतिबद्धता जनाएका थिए। उक्त वाचा अनुसार सडक स्तरोन्नति कार्य सुरु भएको छ। उनले कार्यक्रममा बोल्दै भने, “मैले जुन वाचा चुनावका बेला गरेको थिएँ, आज त्यो पुरा भएको दिन हो। अब विकास रोकिदैन, गति लिन्छ।” कार्यक्रमको आयोजना भव्य र प्रतिनिधिमूलक थियो। स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक समाज र गाउँवासीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा जनसमर्थन स्पष्ट देखिएको थियो।

यो सडक योजनाले लक्ष्मीपुर पतारीको पत्थरगाडादेखि सखुवानन्कारकट्टीको कटैयाहुँदै भौरसम्मको खण्डलाई समेट्नेछ। विगतमा हिलो, खाल्डाखुल्डी र असहज अवस्थाका कारण यातायात कठिन थियो। अब सडक स्तरोन्नतिपछि न केवल आवागमन सहज हुनेछ, बजार, स्वास्थ्य सेवा र शिक्षामा समेत उल्लेखनीय सुधार आउने स्थानीयको विश्वास छ। मधेस प्रदेश समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष दीपेश कुमार यादवले अध्यक्षता गरेको कार्यक्रममा उनले भने, “यो सडक विकासको मेरुदण्ड बन्नेछ। यसले दुई गाउँपालिकालाई मात्रै होइन, सम्पूर्ण क्षेत्रलाई जोड्नेछ।”

कार्यक्रममा लक्ष्मीपुर पतारी वडा नं. ४ का वडा अध्यक्ष अजय कुमार, जनता समाजवादी पार्टीका गाउँपालिका अध्यक्ष नागेन्द्र कुमार यादव, भगवानपुरका पूर्व अध्यक्ष बेचन यादव, जसपा नेपालका जिल्ला उपसचिव इन्दल कुमार मण्डल र पूर्व वडा अध्यक्ष महेन्द्र प्रसाद यादव विशेष अतिथिका रूपमा सहभागी थिए। सबैले सांसद गुप्ताको विकास प्रतिबद्धताको प्रशंसा गर्दै परियोजना सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरे।

सडक स्तरोन्नति योजना मधेस प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयको निर्देशनमा पूर्वाधार विकास कार्यालय, सिरहाले कार्यान्वयन गरिरहेको हो। पथलगाडा स्कूलदेखि भौरको हनुमान मन्दिरसम्म फैलिएको सडक खण्ड लक्ष्मीपुर पतारी–पथलगाडा–भौर सडक स्तरोन्नति उपभोक्ता समितिको नेतृत्वमा निर्माण भइरहेको छ। समितिका अध्यक्ष सन्तोष कुमार यादवले निर्माण कार्यमा जनश्रमदान र स्थानीय सहभागिता मुख्य हुने बताउँदै पारदर्शिता र गुणस्तरीयता सुनिश्चित गरिने आश्वासन दिए।

योजनाको कुल लागत रु. २५,५६,५०७.८२ रहेको छ। यसमा जनश्रमदानमार्फत रु. १,५६,५०७.८२ र बाँकी रु. २४,००,००० मधेस प्रदेश सरकारले प्रदान गर्नेछ। निर्माण सम्झौता २०८१ सालको चैत ६ गते गरिएको थियो। हाल निर्माण कार्य प्रारम्भ भएको छ र समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

स्थानीय बासिन्दाहरू सडक स्तरोन्नतिले गाउँमा विकासको नयाँ अध्याय सुरु गरिदिने विश्वासमा छन्। एक स्थानीयले भने, “हामीलाई लागिरहेको छ, अब हाम्रो गाउँ शहर बन्ने बाटोमा छ। यो सडकले हाम्रो जीवनलाई परिवर्तन गर्नेछ।”

यो सडक परियोजना मधेस प्रदेशको ग्रामीण भौतिक पूर्वाधार विकासतर्फको एउटा उदाहरणीय पहल हो। सांसद गुप्ताको नेतृत्वमा सुरु भएको यो योजना केवल यातायात सुधारको माध्यम नभई सामाजिक, आर्थिक र शैक्षिक जीवनस्तरमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ। स्थानीयको सक्रिय सहभागिता र सरकारी सहयोगको समन्वयमा यस परियोजनाले दुुई गाउँपालिकाबीचको सम्बन्ध बलियो बनाउँदै समृद्धि र विकासको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button