जसपा नेपाल, गोलबजार नगर समितिको अधिवेशन सम्पन्न — नयाँ नेतृत्व चयनसहित सपथग्रहण कार्यक्रम सम्पन्न

सितल साह, सिरहा, गोलबजार २६ जेठ |जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल) को गोलबजार नगर समितिको अधिवेशन भव्यरूपमा सम्पन्न भएको छ। अधिवेशनपश्चात नयाँ नेतृत्व चयन गरी प्रमाणपत्र वितरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै पार्टी संगठनलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नवगठित नगर समितिको अध्यक्षमा विजय कुमार साह चयन भएका छन्। उपाध्यक्षमा सोहेव अनवर र उतिमलाल मण्डल चयन भएका छन्। सचिवको जिम्मेवारी अशोक कुमार यादवलाई दिइएको छ भने उप–सचिवमा संजय कुमार सिंह र धिरज दत निर्वाचित भएका छन्।
कार्यक्रममा जिल्ला तथा प्रदेशस्तरीय नेताहरुको उपस्थिति देखिएको थियो। अधिवेशन र सपथ ग्रहण कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न टोल, वडा र नगरस्तरीय कार्यकर्ताहरूको सक्रियता उल्लेखनीय देखिएको थियो।ड
पार्टीका नेताहरूले समावेशी, लोकतान्त्रिक र जिम्मेवार नेतृत्वमार्फत गोलबजार नगरमा जसपाको जनाधार थप मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।
नयाँ नेतृत्वले स्थानीय तहका जनसमस्यालाई उठान गर्दै संगठन विस्तार तथा सुदृढीकरणलाई प्राथमिकता दिने घोषणा गरेको छ।

नव-निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
जसपा, नेपालको गोलबजार नगर समिति अब आगामी दिनमा नयाँ ऊर्जाका साथ पार्टीको साङ्गठनिक अभियानमा अग्रसर हुने अपेक्षा गरिएको छ।