मिति:- २७ जेष्ठ २०८२, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

लहान नगर प्रमुखको भाषणमा सफाइ, तर जनताले सोधिरहेका छन—साँचो कथा कहिले सुनाइन्छ?

सितल साह ,लहान,सिरहा , जेठ २६
नगर प्रमुखज्यूले ११ मिनेट २६ सेकेन्ड लामो पत्रकार सम्मेलन गर्दै आफ्नो तीन वर्षे कार्यकालका उपलब्धिहरू सार्वजनिक गरे। तर सम्मेलन, जुन औपचारिक र कर्मकाण्डी देखियो, त्यसमा जनजीवनमा प्रभाव पार्ने, तर गम्भीर प्रश्न उठाउने धेरै महत्वपूर्ण पक्षहरू छुटाइएको देखियो। सम्मेलनले नगरवासीको चासोभन्दा बढी आश्चर्य सिर्जना गर्‍यो, किनभने ती मुद्दा समेटिएका थिएनन् जुन जनताको घरदैलोमा चर्चाको विषय बनिसकेका छन्।

तीन वर्षको अवधिमा नगरपालिकासँग सम्बन्धित ९० वटा भ्रष्टाचारका उजुरी अख्तियारमा दर्ता भइसकेका छन्, जुन स्वयं एक नेताद्वारा सार्वजनिक गरिएको तथ्य हो। यस्तो संवेदनशील र गम्भीर विषयको कुनै पनि उल्लेख नगरिनु विडम्बनापूर्ण मात्र होइन, नियतप्रति पनि प्रश्न खडा गर्ने खालको हो।

नगर प्रमुखले कार्यभार सम्हाल्ने दिन नै गाडी सुविधा नलिने घोषणा गरेका थिए। तर भोलिपल्टदेखि नै उक्त सुविधा लिइएको देखिएको छ, जुन आजसम्म निरन्तर जारी छ। घोषणा र व्यवहारबीचको यस्तो विरोधाभास जनताले लामो समयदेखि नियालीरहेका छन्। यस्तै, सञ्चालनमा रहेको नगर बसलाई बन्द गराएर एउटा क्याम्पसलाई दिइएको, पछि फेरि फिर्ता ल्याएर पुनः नगर बसको रुपमा चलाइएको घटनाले नीतिगत अस्पष्टता र प्रशासनिक अन्योल प्रकट गरेको थियो।

नगरपालिका कम्पाउण्डभित्र रहेको चमेना गृह पनि प्रमुखको निर्णयको एउटा उदाहरण बनेको छ। कार्यभारको भोलिपल्ट बन्द गराइएको यो स्थान, केही वर्षभित्रै पुनः संचालनमा ल्याइएको छ, जसले राजनीतिक निर्णयको स्थायित्वमाथि प्रश्न उठाएको छ। त्यस्तै, भ्रष्टाचार नगर्ने र हुन नदिने उद्घोष पछाडि, कार्यकालभरि अख्तियार कार्यालयमा दर्ता भएका उजुरीहरूले विपरीत सन्देश प्रवाह गरेका छन्।

सामाजिक सञ्जालमा व्यापक आलोचना पाएको गोवा भ्रमणको चर्चा सम्मेलनमा गरिएन, जुन स्पष्ट रूपमा एक नियोजित मौनता जस्तो देखियो। वडा अध्यक्षहरूलाई थाईल्यान्ड पठाएर ‘रिफ्रेस’ गराएको कार्यक्रम, जसले नगरको स्रोत र उद्देश्यप्रति प्रश्न उठायो, त्यो पनि सम्मेलनको एजेन्डाबाट गायब देखियो।

समाजभित्र नगर प्रमुखले खेलेको ‘फुटाऊ र शासन गर’ रणनीतिले बजारिया र गाउँलेबीच दूरी बनाएको जनधारणा स्थापित छ। तर यसबारे कुनै स्पष्टीकरण नगरिनु, समस्या समाधानभन्दा परिनियोजनको संकेत दिन्छ। उपप्रमुखसँग देखिएको सार्वजनिक वाकयुद्ध, द्वन्द्व र सत्ता संघर्षमा नगर प्रमुखको सक्रिय संलग्नता रहँदासमेत त्यसको उल्लेख नगरिनुले आन्तरिक अस्थिरतालाई छोप्ने प्रयास देखिन्छ।

यति मात्र होइन, गत वर्ष तरकारी बजारमा गरिएको RCC ढलानको कार्य एक वर्ष नपुग्दै भत्किन थालेपछि, हतारमा सडक विभागसँग मिलेर कालोपत्र गराइएको थियो। गुणस्तरहीन निर्माण र त्यसको ढाकछोपप्रति जनताले असन्तोष प्रकट गरिरहेका छन्।

नगर प्रमुखको पत्रकार सम्मेलनमा यस्ता विषयहरूको उल्लेख नगरिनु संयोग हैन, तर राजनीतिक रुपमा पूर्व योजनाबद्ध मौनता हो भन्ने जनविश्वास बलियो हुँदै गएको छ। उपलब्धिको नाममा जनताको आँखामा छारो हाल्न खोजिएको महसुस नगरवासीले गरेका छन्। तीन वर्षे कार्यकालको समीक्षामा यथार्थ बोल्नुको सट्टा, भाषणमा भर पर्ने र प्रश्नबाट टाढा रहने शैलीले नगर प्रमुखप्रति गहिरो असन्तोष बढाएको छ। अब नगरवासीले जवाफ मागिरहेका छन्— र जवाफ सार्वजनिक रुपमै दिनु आवश्यक देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button