मिति:- २७ जेष्ठ २०८२, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

पत्रकार सम्मेलन मार्फत लहान नगरपालिकाकाे ३ बर्षको प्रगति बिवरण सार्बजनिक

सितल साह , जेठ २४ , लहान, सिरहा — लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सामाजिक सेवा, धार्मिक–सांस्कृतिक गतिविधि लगायतका क्षेत्रमा उल्लेखनीय कामहरू गर्दै जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्न सफल भएको छ। नगरप्रमुख महेश चौधरीले पत्रकार सम्मेलनमार्फत ती कार्यहरूको विवरण सार्वजनिक गरेका हुन्।

नगरपालिकाले सर्वसाधारणका लागि सेवा सहज बनाउने उद्देश्यले जन्म, मृत्यु, विवाह दर्ता तथा नागरिकता सिफारिसमा लाग्ने सम्पूर्ण दस्तुर मिनाहा गरेको छ। त्यसैगरी, मुसहर समुदायलाई क्रियाखर्चस्वरूप प्रतिव्यक्ति पाँच हजार रुपैयाँ नगद उपलब्ध गराइएको छ। विपन्न तथा गरिब वर्गका लागि दाहसंस्कारका क्रममा चार क्विन्टल जलावन (दाउरा) सहयोग निरन्तर प्रदान हुँदै आएको छ। यसका साथै, नगर क्षेत्रभित्र निःशुल्क एम्बुलेन्स सेवा तथा अपाङ्ग र वृद्धवृद्धाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ, जसबाट क्रमशः एक हजार र सात हजारभन्दा बढीले सेवा लिएका छन्।

नगरले हरेक महिना २२ गते फरक–फरक वडामा पुगेर गर्भवती महिलालाई पोषण प्याकेज अन्तरगत खाद्यान्न वितरण गर्दै आएको छ। हालसम्म करिब चार हजार महिलाले यस सुविधाबाट लाभ लिइसकेका छन्। स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न प्रत्येक वडामा सुगर र ब्लडप्रेसर परीक्षण तथा औषधि वितरण कार्यक्रम सञ्चालित छ। वडा नम्बर ११, १२ र १६ मा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरिएको छ भने २ हजारभन्दा बढी नागरिकको मोतिविन्दुको निःशुल्क शल्यक्रिया तथा ९ हजारको आँखा उपचारसम्बन्धी सेवा प्रदान गरिएको छ।

शिक्षा क्षेत्रमा “एक कक्षा, एक शिक्षक” अभियानअन्तर्गत १२५ जना स्वयंसेवक शिक्षक व्यवस्थापन गरिएको छ। ५९ विद्यालयमा कम्प्युटर, ६०० कक्षाकोठामा पंखा तथा ४० विद्यालयमा बालमैत्री र अपाङ्गमैत्री सुलभ शौचालय निर्माण गरिएको छ। विद्यार्थीका लागि पुस्तकालय, विज्ञान प्रयोगशाला, ICT कार्यक्रम, मञ्च निर्माण जस्ता भौतिक तथा शैक्षिक पूर्वाधार विस्तार गरिएको छ। दुई विद्यालयमा पूर्ण अंग्रेजी माध्यममा पढाइ सुरु गरिएको छ भने अन्य ११ विद्यालयमा अंग्रेजी माध्यम कक्षा सञ्चालनका लागि कापी, पेन्सिल, रेजर वितरण गरिएको छ।

कृषिमा आत्मनिर्भरता र व्यवसायीकरणको लक्ष्यसहित नगरपालिकाले किसानका लागि विभिन्न सहयोग कार्यक्रम सञ्चालन गरेको छ। ४०० किसानलाई खेतीका लागि ३५/३५ हजार रुपैयाँ सहयोग गरिएको छ भने फलफूल खेती विस्तारका लागि १०२५ कृषकलाई नि:शुल्क विरुवा वितरण गरिएको छ। मकै, च्याउ, मुग दाल, धान लगायत बिउ र मल अनुदानमा वितरण गरिएको छ। विभिन्न वडामा डिप बोरिङ, पोखरी, कृषि विद्युत र सिंचाइका पूर्वाधार विकास गरिएका छन्। यसैगरी, किसानलाई तालिम, उपकरण र बजारीकरणमा सहयोग प्रदान गरिएको छ।

भौतिक पूर्वाधारको विकासमा लहान नगरपालिका निकै अग्रसर देखिएको छ। मुसहर समुदायका १३४ परिवारलाई पक्की घर हस्तान्तरण गरिएको छ, जसमा दुई कोठा, भान्सा र शौचालय समावेश छ। ११ वटा वडा कार्यालय भवन, तीन स्वास्थ्य चौकी, १५ वटा विद्यालय भवन, १६६ वटा कक्षा कोठा, र नगर अस्पताल निर्माण भइरहेको छ। लहान नगर क्षेत्रका विभिन्न स्थानमा दुर्गा मन्दिर, राममन्दिर, आर्यघाट, सपिङ मल, नयाँ बजार व्यवस्थापन, कम्पाउन्ड, पार्किङ र चमेना गृह निर्माण लगायत कार्य सम्पन्न गरिएका छन्। नगर क्षेत्रमा ४४ किमी पिसिसी, ६ किमी आरसिसी, ३२ किमी ग्राभेल सडक, ६५ फिटको स्तरोन्नत सडक निर्माणका साथै ढल, नाला, ट्युबवेल, विद्युतीकरण र वाउण्ड्रीवाल निर्माण पनि उल्लेखनीय छन्।

धार्मिक र सांस्कृतिक गतिविधिमा पनि नगरपालिकाको भूमिका सक्रिय रहेको छ। तीज, जितिया, छठजस्ता पर्वमा विशेष कार्यक्रम आयोजना, घाट निर्माण तथा सहयोग, नगरस्तरीय महोत्सव र युवाहरूका लागि मेयर गोल्डकप फुटबल प्रतियोगिता लगायतका खेलकुद कार्यक्रमहरूमार्फत सामाजिक एकता र सहभागिता अभिवृद्धि गरिएको छ।

सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि लहान नगरपालिकाले खास ध्यान दिएको देखिन्छ। विद्यालयमा विद्यार्थीलाई खाजा वितरण, वैदेशिक रोजगारीबाट फर्केकालाई बीउ पूँजी सहयोग, महिला समूहलाई व्यवसायिक तालिम र सहयोग, छात्रवृत्ति, विपन्न परिवारलाई जस्तापाता सहयोग, युवाहरुलाई सीपमूलक तालिम, किसानलाई उपकरण वितरण, तथा पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय स्थलहरू सलहेश फुलवारी, मानिक दह, गोसाई डाँडा ताल लगायतको सौन्दर्यकरण कार्य सम्पन्न गरिएका छन्। नगर क्षेत्रका विभिन्न ठाउँमा बाढी, आगलागी तथा विपद् पीडितलाई राहत उपलब्ध गराउनुका साथै लहान–१९ स्थित पशुपति मा.वि.मा जिम सेन्टर स्थापना गरेर नागरिकको शारीरिक स्वास्थ्यप्रति पनि संवेदनशीलता देखाइएको छ।

तीन वर्षको अवधिमा व्यापक योजनाबद्धता, समावेशीता, नागरिकमैत्री कार्यशैली तथा पारदर्शिताका साथ लहान नगरपालिकाले सर्वसाधारणको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेलेको स्पष्ट देखिन्छ। नगरप्रमुख चौधरीले पत्रकार सम्मेलनमा लहानलाई ‘सर्वसुलभ, समावेशी र समृद्ध नगर’ बनाउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याउँदै आगामी दिनमा जनताको अपेक्षा र सुझावलाई प्राथमिकतामा राखेर कार्य गरिने बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button