मिति:- २९ जेष्ठ २०८२, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

लहान प्रदेशिक अस्पतालमा सिमुलेशन ल्याब उद्घाटन


सितल साह , सिरहा ,लहान, २०८२ जेठ ७ – मातृ तथा नवजात शिशुको उपचार र स्याहारका लागि स्वास्थ्यकर्मीहरूलाई प्रयोगात्मक सीपबाट दक्ष बनाउने उद्देश्यले लहानस्थित रा.उ. प्रदेशिक अस्पतालमा आज सिमुलेशन ल्याबको औपचारिक उद्घाटन गरिएको छ।

उक्त ल्याबको उद्घाटन अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष श्री शत्रुधन मण्डल र कार्यालय प्रमुख डा. रणजित कुमार झाले संयुक्त रूपमा गर्नु भएको हो। उद्घाटन समारोहमा स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, सरोकारवाला निकाय तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सिमुलेशन ल्याबमार्फत सञ्चालित मातृशिशु स्वास्थ्य सम्बन्धी कार्यक्रम स्वास्थ्यकर्मीहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको विशेष व्यावहारिक तालिम कार्यक्रम हो। यो कार्यक्रम मातृ मृत्युदर र नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको हो। तालिम अन्तर्गत प्रसूति, सुत्केरी सेवा, नवजात शिशुको समुचित हेरचाह, आपतकालीन प्रसव व्यवस्थापन तथा जीवनरक्षक सीपहरूमा आधारित तालिम प्रदान गरिनेछ।

सिमुलेशन ल्याबको स्थापना तथा सफल सञ्चालनमा One Heart Nepal र Hope Foundationको महत्वपूर्ण सहयोग रहेको छ। यस विशेष योगदानका लागि अस्पताल प्रशासनले ती संस्थाहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

डा. रणजित कुमार झाका अनुसार, “यस ल्याबले स्वास्थ्यकर्मीहरूलाई प्रत्यक्ष अभ्यास गर्ने वातावरण प्रदान गर्ने भएकाले भविष्यमा मातृ तथा शिशु मृत्युदर घटाउनेतर्फ ठुलो प्रभाव पार्नेछ।”

अस्पतालका अध्यक्ष श्री शत्रुधन मण्डलले पनि सिमुलेशन ल्याबलाई अत्यन्तै महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै मातृशिशु स्वास्थ्य सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो।

यसैगरी सहभागीहरूले सिमुलेशन ल्याबलाई व्यवहारिक सिकाइको उत्कृष्ट माध्यमको रूपमा लिएको प्रतिक्रिया दिएका छन्। यो पहलले प्रदेश नं. २ को मातृ तथा नवजात स्वास्थ्य सेवा प्रणालीमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button