समाचार लेखेकै भरमा जेल जानुपर्छ भने म जान तयार छु ,पत्रकारिता अपराध हो भने म त्यो अपराध बारम्बार गर्नेछु !

समाचार लेखेकै भरमा जेल जानुपर्छ भने म जान तयार छु ,
पत्रकारिता अपराध हो भने म त्यो अपराध बारम्बार गर्नेछु !
– गणेश विक
कार्यसमिति सदस्य
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा काठमाडौं ।
बैशाख २० ,काठमाडौ । विश्व प्रेस स्वतन्त्रता दिवस २०८२ मे ३ को दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । सर्वप्रथमतः यो दिनमा प्रेस स्वतन्त्रताका पक्षमा लडाइँ लड्ने योद्धाहरूको विशेष सम्मान व्यक्त गर्दछु । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आधारभूत सिद्धान्त, प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा र स्वतन्त्रताको प्रतिरक्षा एवं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
विश्वमा र अझ नेपालमा पछिल्ला दिनहरुमा प्रेस स्वतन्त्रताविरोधी घटनाहरु तिव्र रुपमा बढिरहेका छन् । नेपालमा मिडिया र मिडियाकर्मीमाथि बढ्दो खतरा छ । यस वर्ष ७१ वटा प्रेस र अभिव्यक्ति स्वतन्त्रता उल्लंघनका घटना भएका छन् । २ जना पत्रकार सुरेश भुल र सुरेश रजकको हत्या, ६ जनासहितको ३ जना पत्रकारको गिरफ्तारी र अदालतको अवहेलनासम्बन्धी, ३ वटा सूचनाको अवरोध, २ वटा उपकरण नियन्त्रणमा लिने घटना, र २४ जना पत्रकार र मिडिया संस्थालाई लक्षित गर्दै गरिएका २२ वटा धम्की र त्रासका घटनाहरू छन् । यसमा सरकार र सरोकारवालाहरूले गम्भीर रूपमा लिएकै छैनन् । हत्या गरिएका पत्रकारको घटनाबारे राज्यले छानविन गरी दोषीलाई अहिलेसम्म कारवाही गर्नै चाहेको देखिदैन । प्रेस स्वतन्त्रताविरोधी घटनाका विरुद्ध र स्वतन्त्रताका पक्षमा थप प्रतिबद्धता जनाउँदै प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ सशक्त बनाउन अपरिहार्य भएको छ ।
यो दिन प्रेस स्वतन्त्रताको रक्षा गर्न, पत्रकारहरूमाथि हुने दमनको विरोध गर्न र सत्यको पक्षमा कलम उठाउनेहरूको सम्मान गर्न मनाइन्छ । हाम्रो देश नेपालमा स्वतन्त्र पत्रकारितामाथि झन् बढ्दो दमन, मुद्दा र मानसिक यातना खेप्नुपरेको यथार्थ अत्यन्तै पीडादायी छ ।
पत्रकारिता केवल सूचना प्रवाह होइन । यो शासनको निगरानी गर्ने, जनताको आवाज बुलन्द गर्ने र गलतसँग जुध्ने साहसी कर्म हो पत्रकारिता । तर जब पत्रकारलाई रोक्ने प्रयास गरिन्छ । जब सत्य बोल्नेहरूलाई जेल पुर्याइन्छ, तब प्रश्न उठ्छ ? के लोकतन्त्र साँच्चै ज्यूँदो छ ?

व्यक्तिगत अनुभव र प्रतिबद्धता, किन म जेल जान तयार छु
२०७५ साल पुस १९ गते मैले साईपाल पोष्ट डटकममा समाचार लेखेँ, घुमुवा प्रहरीको मिलेमतोमा भइरहेको लागूऔषधको तस्करीको विषयमा । त्यो समाचार प्रकाशित भएपछि मलाई प्रहरी प्रशासनले नियोजित रूपमा पक्राउ गर्यो । मलाई ‘विद्युतीय कारोबार ऐन २०६३’ को नाममा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइयो । पत्रकारिता गर्नेलाई तस्करजस्तै व्यवहार गरियो भयो नेपाल प्रहरी र नेपाल सरकारबाट ।
त्यसपछि २०७९ सालमा खप्तडटिभीमा ‘हनिट्रयाप काण्ड’ को समाचार लेखेँ, जुन समाचार नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँबिरुद्धकाे थियो । सत्य समाचार लेखेकै कारण फेरि सोही ऐन अन्तर्गत मुद्दा हालियो ।
खप्तडटिभीमा २०८० मा नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य रुक्मति जागरीको भिडियो प्रकरण उजागर गरें, फेरि मुद्दा हालियो मलाई ।ढ
खप्तडटिभीमा २०८० कै अर्को समाचार, राजधानीको पुतलीसडकस्थित सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको अनियमितता बारेमा समाचार लेख्दा, गाली बेइज्जतीको मुद्दा चलाईयो ।
मेरो यात्रामा भोगेका यी सबै घटनाले के देखाउँछ भने सत्य लेख्ने पत्रकारलाई निरुत्साहित पार्ने नियोजित रणनीति चलिरहेको छ । यद्यपि म यस्ता कार्यले डराएको छैन र भोलिको दिनमा पनि डराउँदिन । यदि पत्रकारिता गरेकै कारण जेल जानुपर्छ भने म तयार छु । किनभने सत्य लेख्नु मेरो पेशा मात्र होइन, धर्म हो।
सामाजिक सन्दर्भ, सत्ताले पत्रकारमाथि गर्ने दमनको चर्चा
नेपालमा प्रेस स्वतन्त्रताको अवस्था झुटो दरबारजस्तै बनिसकेको छ । देखावटी छ, तर भित्र गुँडिएको दमन छ । ‘लोकतन्त्र’ को नाममा चुनाव हुन्छ सरकार बनिन्छ तर पत्रकारको कलम रोक्ने काम गरिन्छ ।
‘विद्युतीय कारोबार ऐन २०६३’ पत्रकारमाथि अंकुश लगाउने मुख्य हतियार बनेको छ । यो ऐन मूलतः साइबर अपराध नियन्त्रणका लागि बनाइएको हो, तर अहिले सत्ताधारीहरूलाई असहज लाग्ने समाचार लेख्ने पत्रकारलाई जो–कसैलाई यो ऐनमा फसाउने क्रम बढ्दो छ ।
सत्तामा बस्नेहरू चाहन्छन्न , पत्रकारहरू केवल प्रेस विज्ञप्ति टाँस्ने काम गरून् । शक्ति र अन्यायविरुद्ध कलम नचलून् । जब पत्रकारले यथार्थ देखाउन थाल्छ, तब उनीहरू अपराधीकरणको सूचीमा राखिन्छन् ।
मूल्य र नैतिकता, पत्रकारको धर्म र समाजप्रति उत्तरदायित्व

पत्रकारिता कुनै सजिलो पेशा होइन । सत्य लेख्न, खोज गर्न र सशक्तहरूलाई सवाल सोध्न आँट गर्नुपर्छ । पत्रकारिता गर्नेले न त कुनै पार्टीको पक्ष लिन सक्छ, न कुनै संस्थाको बाचाउ गर्न सक्छ । ऊ त केवल निमुखा जनताको पक्षमा उभिने काम मात्र गर्छ ।
जब मैले लागूऔषध तस्कर देखेँ, मैले लेखेँ । जब मैले सहकारीमा भ्रष्टाचार देखें, म चुप लाग्न सकिनँ । किनभने म जनताका लागि लेख्छु सत्ताका लागि होइन । मलाई जेल हाल्ने, मुद्दा लगाउने, बदनाम गर्ने प्रयास भइरहन्छ, तर म पछि हट्दैन र मेरो कलम बन्द हुर्दैन ।
पत्रकारिता भनेको प्रतिरोधको चेतना हो । जब राज्य असफल हुन्छ, जब न्याय प्रणाली मौन बस्छ, तब पत्रकारले प्रतिकार गर्छ । यदि यो प्रतिकार अपराध हो भने, म त्यो अपराध बारम्बार गर्न तयार छु ।
चेतावनी र आह्वान
आज विश्व प्रेस स्वतन्त्रता दिवसको दिन, हामीले केवल औपचारिकता निभाउने होइन, आत्ममूल्यांकन गर्नुपर्छ । सत्ताले पत्रकारमाथि थोपर्ने दमनविरुद्ध हामी एकजुट हुनुपर्छ ।
पत्रकारको कलम कमजोर भए देशको लोकतन्त्र मरिन्छ । सत्ताले पत्रकारको आलोचनालाई आशीर्वाद ठान्नुपर्छ, न कि अपमान यदि जनताले प्रश्न गर्न छाडे, यदि पत्रकारले लेख्न छाडे, त्यो दिन तानाशाही जन्मिन्छ ।
अन्त्यमा, म यो खुलेर भन्न चाहन्छु:
यदि समाचार लेख्नु अपराध हो भने, म अपराधी हुँ ।
यदि सत्य बोल्नाले जेल जानुपर्छ भने, म जान तयार छु ।
किनभने यो मेरो पेसा होइन, मेरो संकल्प हो।