जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग २०२४ को उपाधि जित्यो,मधेशमा उत्सव र खुशीयाली
नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेर ऐतिहासिक सफलता हात पारेको छ।
सितल साह ,पाैष ६ , लहान , सिरहा।। नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेर ऐतिहासिक सफलता हात पारेको छ। फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले नेपाली क्रिकेटको महत्त्वपूर्ण क्षणलाई आफ्नो पक्षमा बदल्न सफल भएको हो। यो जित केवल खेल मैदानको मात्र नभई जनकपुरको पहिचान, संस्कार र मेहनतको गर्वपूर्ण प्रतीक बनेर आएको छ।
जनकपुरको यो सफलताका लागि खेलअघि प्रसिद्ध राजदेवी मन्दिरमा पूजा-पाठ र यज्ञ गरिएको थियो। टिमका समर्थकहरूले खेलाडीहरूको जित सुनिश्चित गर्न मन्दिरमा विशेष पूजा आयोजना गरेका थिए। फाइनल खेलमा जितेपछि जनकपुरलगायत मधेशभरि नै दीपावली मनाइएको छ। युवाहरूले पटाका पड्काउँदै र सड़कमै नाचगान गर्दै विजय उत्सव मनाएका छन्।
खेलका क्रममा जनकपुर बोल्ट्सका खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन देखाए। विशेष गरी बलर ललित राजवंशीले शानदार खेल प्रदर्शन गर्दै प्रतियोगिताका उत्कृष्ट बलरको उपाधि जिते। उनलाई पुरस्कारस्वरूप नयाँ बाइक प्रदान गरिएको छ। उता, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीलाई उत्कृष्ट नेपाली खेलाडी घोषित गर्दै पुरस्कारस्वरूप कार प्रदान गरिएको छ।
यो प्रतियोगिताले नेपाली क्रिकेटलाई मात्र नभई नेपाली समाज र संस्कृतिलाई पनि एकता र पहिचानका माध्यमबाट जोड्न मद्दत पुर्याएको छ। “धोती” भनेर होच्याउनेहरूलाई मैदानमा जनकपुरले आफ्नो मेहनत र संस्कृति मार्फत चकित पारेको छ। खेलाडीहरूको मेहनत र प्रदर्शनले मात्र नभई टिमको नेतृत्व, खेलकुदप्रतिको समर्पण, र स्थानीय जनताको समर्थनले यो जित सम्भव भएको हो।
जनकपुरमा अहिले उत्सवको माहोल छ। फटाका पड्काउँदै, झाँकी निकाल्दै, सांस्कृतिक कार्यक्रमको आयोजना गरेर स्थानीय जनताले यो ऐतिहासिक सफलतालाई उत्साहपूर्वक मनाइरहेका छन्। नेपाल क्रिकेट संघ (क्यान) र सहभागी सबै आठ टिमहरूले एनपीएललाई नेपाली खेलकुदको महापर्व बनाउन योगदान गरेका छन्। यो प्रतियोगिता नेपाली खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण कदम सावित भएको छ।
जनकपुर बोल्ट्सको यो ऐतिहासिक सफलता नेपाली क्रिकेटमा एक नवीन युगको सुरुवात हो। सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेकोमा पनि सम्मान व्यक्त गरिन्छ। नेपाली क्रिकेटप्रेमीहरूको समर्थन र उत्साहले एनपीएललाई भव्य रूपमा सम्पन्न गर्यो। जनकपुर बोल्ट्सको जितले नेपाली खेलकुदको भविष्यलाई उज्ज्वल बनाउने आशा गरिएको छ।