मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
खेलकुदमुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

लहानमा दोस्रो डे & नाईट उपमेयर कप क्रिकेट टुर्नामेन्ट २०८१ भव्य रूपमा सुरू

सिरहाको लहानमा दोस्रो उपमेयर कप डे & नाइट क्रिकेट टुर्नामेन्ट २०८१ भव्य रूपमा सुरू भएको छ।

सितल साह लहान, फाल्गुन ०३ ।। सिरहाको लहानमा दोस्रो उपमेयर कप डे & नाइट क्रिकेट टुर्नामेन्ट २०८१ भव्य रूपमा सुरू भएको छ। खेलकुदको प्रवर्द्धन र युवाहरूलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो प्रतियोगिताको उद्घाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन्।

उद्घाटन समारोहमा लहान नगरपालिकाका उपमेयर रमाचलितर महतो, नेपाल पत्रकार महासंघका अध्यक्ष मनोज बनैता, नेता बिनोद साह, युवा नेता सरोज यादव, लहानका डीएसपी बिष्णु प्रसाद सोति, शसस्त्र प्रहरी बलका डीएसपी, नेता सन्तोष चौधरी, पत्रकार तथा लहान युवा क्लबका सम्पूर्ण टिमसहित उल्लेखनीय खेल प्रेमीहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताको आयोजनामा लहान नगरपालिकाका उपमेयर रमाचलितर महतो रहेका थिए भने कार्यक्रमको अध्यक्षता लब मण्डलले गरेका थिए।

नेपाल पत्रकार महासंघका अध्यक्ष मनोज बनैताले लहानमा खेल स्टेडियम निर्माणका लागि पहल गर्न खेलकुद मन्त्री तेजुलाल चौधरीलाई आग्रह गरे। उनले खेल स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक हुने भएकाले युवाहरूलाई खेलकुदमा सक्रिय सहभागिता जनाउनुपर्ने कुरामा जोड दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै लहान नगरपालिकाका उपमेयर रमाचलितर महतोले लागू औषधको कुलतबाट युवाहरूलाई जोगाउन खेलकुद एक प्रभावकारी माध्यम भएको बताउँदै नगरपालिकाले खेलकुद प्रवर्द्धनका लागि विशेष बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले खेलकुद आजको आवश्यकता भएकाले लहानलाई खेलकै माध्यमबाट चिनाउन विशेष पहल गरिने उल्लेख गरे।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदलाई केवल मनोरञ्जनका रूपमा नभई आर्थिक समृद्धिको प्रमुख माध्यमका रूपमा लिनुपर्ने बताए। उनले भारतको आईपीएल क्रिकेट लिगको उदाहरण दिँदै, एक महिनामा मात्र १७ करोड कमाउने खेलाडीहरू रहेको उल्लेख गरे। मन्त्री, सांसद वा मेयर-उपमेयरले पनि त्यति आम्दानी गर्न नसक्ने भन्दै खेलकुदलाई प्रमुख पेशाका रूपमा विकास गर्नुपर्ने बताए।

उनले खेलबाटै आर्थिक संकट टार्न सकिने उल्लेख गर्दै खेलकुदमा जुनून आवश्यक रहेको बताए। खेलाडीहरूलाई राज्यस्तरबाट उचित प्रवर्द्धन र सहयोग गर्नुपर्नेमा जोड दिँदै लहान नगरपालिकाको बजेटमा खेलकुदका लागि रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए। उनले लहानको पशुपति मावि प्राङ्गणमा सञ्चालन भइरहेको यो क्रिकेट प्रतियोगिता विशेष महत्वको रहेको बताउँदै, आफू पनि यही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको स्मरण गरे।

औपचारिक उद्घाटनपछि उपमेयर रमाचलितर महतोले पहिलो बल फालेर र मन्त्री तेजुलाल चौधरीले ब्याटिङ गरेर प्रतियोगिताको सुरुवात गरे। डे & नाइट फर्म्याटमा सञ्चालन भइरहेको यो क्रिकेट टुर्नामेन्ट स्थानीय तथा क्षेत्रीय स्तरका खेलाडीहरूका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको यस प्रतियोगिता मार्फत लहान नगरपालिकाले खेलकुद प्रवर्द्धनको अभियानलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

 

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker